काठमाडौं । नेपाली क्रिकेट टिमले चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको आज मंगलबार बिहान मंगोलियाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ ।
झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी अन्तरसहित पराजित गरेको हो ।
यस अघि २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको रेकर्ड नेपालले ब्रेक गरेको हो ।
नेपाली ब्याट्स म्यान द्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विस्फोटक पारि खेल्दै नेपालले कीर्तिमानी जित हासिल गरेको हो ।
कुशल मल्लले ३४ बलमा सय रन हानेर सबैभन्दा थोरै बलमा शतक बनाउने कीर्तीमान कायम राखे भने दिपेन्द्र सिंह ऐरीले ९ बलमा ५० रन हानेर सबैभन्दा थोरै बलमा अर्ध शतक बनाउने कीर्तीमान आफ्नो नाममा लेखाए ।
मल्लले ५० बल खेल्दै १३७ रन बनाए भने ऐरीले १० बल खेल्दै ५२ रन बनाएर दुबै नट आउट रहे ।
क्याप्टेन रोहित पौडेलले २७ बलमा ६१ रनको योगदान गरे । ओपनरद्वय कुसल भुर्तेलले १९ र आसफ शेखे १६ रन बनाए ।
नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो ।
मंगोलियालाई सस्तैमा समेट्ने क्रममा नेपाली बलर करण केसी, अविनाश बोहोरा र सन्दीप लामिछानेले २ २ विकेट लिए भने सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले एक एक विकेट लिए ।
७ वटा विश्व किर्तिमान कायम
मंगोलिया बिरुद्धको आजको खेलमा नेपालले टी २० इन्टरनेशनल क्रिकेटमा ७ वटा विश्व किर्तिमान कायम गरेको छ ।
१. कीर्तिमानी स्कोर
नेपालले टि २० क्रिकेटमा सर्बाधिक ३१४ रन बनाउने किर्तिमान आफ्नो नाममा लेखाएको छ । यसअघि २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध र ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीविरुद्ध समान २७८ किर्तिमानि स्केर खडा गरेका थिए ।
२. कुशलको नाममा कीर्तिमानी शतक
कुशल मल्लले ३४ बलमा सय रन हानेर सबैभन्दा थोरै बलमा शतक बनाउने कीर्तीमान कायम गरेका छन् । यस अघि दक्षिण अफ्रिकाका डेभिड मिलरले २९ अक्टोबर २०१७ मा बंगलादेशविरुद्ध ३५ बलमा १०० रन बनाएका थिए ।
३. ऐरीको नाममा कीर्तिमानी अर्ध शतक
मंगोलियाविरुद्ध भएको खेलका क्रममा दीपेन्द्रसिंह ऐरीले दिपेन्द्र सिंह ऐरीले ९ बलमा ५० रन हानेर सबैभन्दा थोरै बलमा अर्ध शतक बनाउने कीर्तीमान आफ्नो नाममा लेखाए । यसअघि यो रेकर्ड भारतका युवराज सिंहले १९ सेप्टेम्बर २००७ इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।
४. सर्वाधिक छक्का
मंगोलियाविरुद्ध बुधबार नेपालको नाममा सर्वाधिक २६ छक्काको अर्को नयाँ कीर्तिमान कायम गरे
यसअघि यो रेकर्ड चेक रिपब्लिकको नाममा थियो । ३० अगष्ट २०१९ मा टर्कीविरुद्ध २२ छक्का हानेका थिए ।
५. सर्वाधिक रन रेट
नेपालले मंगोलियाविरद्ध सर्वाधिक रन रेटको रेकर्ड पनि बनाएको छ । नेपालको रन रेट १५.७ रह्यो । यस अघि २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध १३.९ को रन रेट कायम गरेको थियो ।
६. व्यक्तिगत स्ट्राइक रेटमा पनि ऐरीको कीर्तिमान
मंगोलियाविरद्ध बुधबार ऐरीले ५२०.०० को हाइएस्ट स्ट्राइक रेट अर्को रेकर्ड कायम गरेका छन् । उनले मात्र १० बलमा ५२ रन बनाएउदा उनको स्ट्राइक रेट ५२०.०० रहृयो । यसअघि यो रेकर्ड वेष्ट इण्डिजका डवेन स्मिथले १३ सेप्टेम्बर २००७ मा बंगलादेशविरुद्ध ७ बलमा २९ रन बनाउदा उनको स्ट्राइक रेट ४१४.२८ थियो ।
७. ठूलो अन्तरको जित
नेपालले मंगोलियालाई २७३ रनले हराउदा टी २० इन्टरनेशनलमा सबैभन्दा ठूलो अन्तरको जितको रेकर्ड दर्ज भयो । यसअघि ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको रेकर्ड कायम थियो ।
चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३.१ ओभरमा ४१ रनमा अलआउट गर्यो ।