काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ ।
महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन गर्न आएका राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सोमबार नागरिक अभिनन्दन गरिएको हो ।
जनकपुरधामका मेयर मनोज साहले राष्ट्रपति पौडेललाई अभिनन्दन पत्र प्रदान गरेका थिए । देश र लोकतन्त्रका लागि पुर्याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको हो ।
मैथली भाषा प्रयोग गरिएको अभिनन्दन पत्रमा राष्ट्रपति पौडेललाई भगवान रामसँग तुलना गर्दै ‘त्रेतायुगमा भगवान राम जनकपुरधाम आएपछि नगरबासी जसरी हर्ष विभोर भएका थिए । त्यस्तै तपाईको आगमनले जनकपुरवासी हर्ष विभोर भएका छन् ।’ भनिएको छ ।
यस्तै राष्ट्रपतिमा निर्वाचित भएलगत्तै नागरिकता विधेयक प्रमाणीकरण गरी ठूलो समस्या समाधान गरेको भन्दै पौडेलको प्रशंसा समेत गरिएको छ । नागरिक अभिनन्दनका क्रममा राष्ट्रपति पौडेलसमक्ष जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्नका लागि आवश्यक पहल गर्न पनि आग्रह गरिएको छ ।
नागरिक अभिनन्दन अघि राष्ट्रपति रामचन्द्र पौडेलले जानकी मन्दिर दर्शन गर्नुका साथै जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गरेका थिए ।
अभिनन्दन कार्यक्रममा बाेल्दै राष्ट्रपति पौडेलले जनतालाई अधिकार दिने विषयमा कुनै कन्जुस्याइ गर्न नहुने बताए । उनले संघीयताको मर्मअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन सरकारलाई निर्देशन समेत दिए ।