काठमाडौं । नेपाल मुस्लिम संघको तेस्रो केन्द्रिय महाधिवेशन आजबाट सुरु हुदैछ । नेपाली काँग्रेसको भातृसंस्थाका रुपमा रहेको संघको महाअधिवेशन आज र भोली काठमाडौं स्थित राष्ट्रिय सभागृहमा हुन लागेको हो ।
दुई दिनसम्म चल्ने महाधिवेशनको आज दिनको २ बजे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने तय भएको संघका कार्यवहाक अध्यक्ष अतावुल मन्सुरले बताए ।। उद्घाटन कार्यक्रममा सभापति देउवासहित पार्टीका नेता शेखर कोइराला, महामन्त्रिहरु गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्रि फर्मुल्लाह मन्सुर लगायतका पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको सहभागिता रहने संघले जनाएको छ ।
महाधिवेशनमा ४३ जिल्लाबाट गरी ४ सय ३७ जना प्रतिनिधी, परिवेक्षक लगायत काठमाडौं आइसकेको बताइएको छ ।
जसमा संघिय निर्वाचन क्षेत्र ४ भन्दा कम भएको जिल्लाबाट ५ जना, ४ भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाबाट ६ जना केन्द्रिय प्रतिनिधीले महाधिवेशनमा सहभागिता जनाउदैछन् । त्यस्तै महाधिवेशनमा जिल्ला सभापति र सचिव समेत पदेन प्रतिनिधीका रुपमा सहभागी हुने संघले जनाएको छ ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । ८७ जनाको केन्द्रिय कार्यसमिति रहने संघमा अबको अध्यक्ष को भन्ने बिषय अहिले चर्चामा छ । संघको स्थापनादेखि नेतृत्व गरिरहेका अब्दुल सत्तार नेपाली काँग्रेसको केन्द्रिय सदस्य निर्वाचित भएपछि उपाध्यक्ष रहेका अताबुल मन्सुरलाई कार्यवहाकको जिम्मेवारी दिएका थिए । केन्द्रिय सदस्य चुनिएपछि विधानले सत्तारलाई संघमा अबको नेतृत्व गर्न दिदैन ।
अहिले देशभरीबाट प्रतिनिधीहरु काठमाडौं आइसकेका छन् । संघमा अबको नेतृत्वका लागि हाल पदाधिकारी रहेकाहरु नै कसरतमा छन् । जसमा कार्यवहाक अध्यक्ष अताबुल मन्सुर, बरिष्ठ उपाध्यक्ष मोहम्मद निजामुद्धिन, महासचिव मुख्तार आलम तथा सलावतदिन दिन मियाँको नाम चर्चामा छ । अहिलेसम्म औपचारिक घोषणा भने कसैले गरेका छैनन् ।
त्यस्तै उपाध्यक्ष, महासचिव, सचिव तथा कोषाध्यक्ष पदमा समेत हालसम्म कुनै उम्मेदवारले घोषणा गरेका छैनन ।
यता संघको नेतृत्व चुन्न पार्टीका सहमहामन्त्री फर्मूल्लाह मन्सुर तथा संघका संस्थापक अध्यक्ष समेत रहेका काँग्रेस केन्द्रिय सदस्य अब्दुल सत्तारको भुमिका महत्वपूर्ण मानिएको छ । उनिहरु दुवै पार्टी सभापति देउवा निकट हुन् । यि दुई नेताको साथ पाउने उम्मेदवार नै अध्यक्ष बन्ने पक्कापक्की रहेको अधिकांश प्रतिनिधीहरुको ठम्याई छ ।