पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् सदस्यहरुले नियुक्ती भएको चारमहिनापछि सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आधिकारिक बेवसाइटमा सम्पत्ति विवरण सार्वजनिक गरिएको हो।
आचारसंहिता अनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् सदस्यहरुले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्छ। बैशाख १४ गते गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका थिए। आचारसंहिता अनुसार विवरण सार्वजनिक गर्नुपर्ने समयवधिले असारमा नै नेटो काटेको हो। आफना १०० दिने उपलब्धि सुनाउन पत्रकार सम्मेलन गरेका मुख्यमन्त्रीले आचारसंहिता नलाग्दै सम्पत्ति विवरण भने सार्वजनिक गरेनन्।
बिहीबार सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार गण्डकीका मन्त्रीसँग नीजि वनदेखि एक नाले बन्दुक रहेको सम्पत्ति विवरणमा उल्लेख छ। मुख्यमन्त्रीदेखि मन्त्रीहरुको सम्पत्ति विवरणमा सम्पत्तिको अधिकांश स्रोत पैत्रिक रहेको उल्लेख छ।
कुन मन्त्रीको कति सम्पत्ति ?
सार्वजनिक भएको सम्पत्ति विवरणमा गण्डकीका मुख्यमन्त्रीको गोरखा र काठमाडौंमा घर साथै कपिलवस्तुमा पैत्रिक जग्गा रहेको उल्लेख छ। यस्तै मुख्यमन्त्रीको ४२ तोला सुन, ५०० तोला चाँदी, २ सेट हिरा र १ सेट मोती रहेको उल्लेख छ। त्यसको स्रोत पैत्रिक र जग्गा बिक्रीबाट आर्जेको उल्लेख छ।
उनको एभरेष्ट बैंक, नबिल बैंक, एसबिआइ, कृषि विकास बैंकमा २४ लाख ९६ हजार मौज्दाता रकम रहेको उल्लेख छ। जसको प्राप्तीको स्रोत व्यवसाय, तलब र जग्गा बिक्री रहेको उनले उल्लेख गरेका छन्। पत्नी विना शर्मा पाण्डेको नाममा मुद्धतीमा प्रभु बैंकमा ६० लाख रुपैयाँ रहेको उल्लेख छ। राष्ट्रिय वाणिज्य बैंकमा ५० लाखको ओभर ड्राफ्ट रहेकोमध्ये २३ लाख निकालेको विवरणमा उल्लेख छ।
७ मन्त्रीपरिषद् सदस्यमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडासँग सबैभन्दा कम सम्पत्ति रहेको विवरणमा उल्लेख छ। उनले आफना दाइ विष्णु सिंखडाको नाममा गोरखामा रहेको जग्गालाई सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन्। साथै नवलपुरको गैंडाकोट र ललितपुरमा जग्गा रहेको उल्लेख गरेकी छिन्।
साथै उनले चल सम्पत्तिको विवरण केही नरहेको उल्लेख गरेकी छन्। एनएमबी बैंकमा १ लाख, कृषि विकास बैंकमा १ लाख ५० हजार, ग्लोबल र प्रभु बैंकमा ५ हजार मौजदत रकम रहेको उल्लेख गरेकी छिन्। २६ हजारको मोबाइल र ७ हजारको घडी सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन्। जसको स्रोत आफैँले किनेको खुलाएकी छिन्।
ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले २३ लाख नगद, २२ तोला सुन, ४० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन्। स्याङ्जामा पुर्ख्यौली घरजग्गा रहेको उनले उल्लेख गरेकी छिन्। यस्तै, उपकार बचत सहकारी संस्था, कालिका सामुदायिका अस्पताल, सामुदायिक रेडियो आँधिखोला, दर्शन बचत तथा सहकारीमा शेयर रहेको उल्लेख गरेकी छिन्।
उनको सम्पत्ति विवरणमा आफना श्रीमान मणिप्रसाद तिवारीको नाममा अपर तामाकोशी हाइड्रोपावरमा शेयर रहेको उल्लेख छ। लक्ष्मी बैंकबाट ३५ लाख क्रण लिएको पनि विवरणमा उल्लेख छ ।
यस्तै, कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले आफूसँग ४० तोला सुन र २० तोला चाँदी रहेको उल्लेख गरेका छन्। नवलपरासी बर्दघाटमा उनको जग्गा र साढे २ तला घर रहेको छ। कृषि विकास बैंक, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकबाट स्टेटमेन्ट आएपछि रकम उल्लेख गर्ने भनिएको छ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय भौतिक तथा पूर्वाधारमन्त्री रेशमबहादुर जुग्जालीले ७ तोला सुन रहेको उल्लेख गरेका छन्। ५ तोला व्यवसायबाट भने २ तोला पैत्रिक रहेको प्राप्तिको स्रोतमा उल्लेख छ।
आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले २१ तोला सुन र २७ तोला चाँदी रहेको विवरणमा उल्लेख गरेका छन्। उनले एक नाले १२ बोर बन्दुक ३३ हजारमा खरिद गरेको उल्लेख गरेका छन्। साथै उनीसँग नीजि वन रहेको विवरणमा उल्लेख छ। जसको स्रोत पैत्रिक रहेको उनले खुलाएका छन्।
यस्तै, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापाले १७ तोला सुन र २ केजी चाँदी रहेको उल्लेख गरेका छन्। विवरणमा जिप, ट्याक्टर र फार्मेसी रहेको उल्लेख गरेका छन्। कास्की शिशुवामा दुई वटा जग्गा खरिद गरेको उनको सम्पत्ति विवरणमा उल्लेख छ।