काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा ६ सय ७० जना कैदीबन्दीलाई कैद माफी दिएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले फौजदारी कसुर सजाय ऐन, कारागार नियमावली, सर्वोच्च अदालतको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त संख्यामा कैदीको बाँकिरहेका कैद माफि दिएका हुन् ।
टिकापुर घटनाका ४ जना रिहा
टिकापुर घटनामा दोषि ठहरिइ ८ वर्षदेखि कैलाली कारागारमा कैद खेपिरहेका ३ जना बन्दी र पोखरास्थित बाल सुधारगृहमा रहेका १ जना रिहा हुने भएका छन् ।
कैलाली कारागारबाट वीरबहादुर चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी रिहा भैसकेका छन् भने पोखरास्थित बाल सुधारगृहमा रहेका श्रवण चौधरी आजै रिहा हुने छन् ।
२०७२ भदौ ७ मा कैलालीको टीकापुर नगरपालिका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच दिउँसो झडप हुँदा प्रहरी बरिष्ठ उपरिक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको थियो । आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरीलाई आरोप लागाइएको थियो ।
रेशम चौधरीलाई यस अधिनै सरकारले माफि दिइसकेको छ ।