काठमाडौं । काठमाडौंको तिनकुने गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ ।
शुक्रबार राति गैह्रीगाउँको दिव्य सःमिलमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ ।
हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।
हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेको र मदिरा सेवन गरेका उनलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरीएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।