काठमाडौं । सर्लाही घटनाप्रति आपत्ति जनाउँदै सांसदहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहहितकाे टोलीले गृहमन्त्री श्रेष्ठकाे ध्यानाकर्षण गराएकाे हाे ।
कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा शुक्रबार साँझ दुई समुदायबीच झडप भएको थियो । घटना बढ्न नदिन प्रशासनले शनिबार बिहान ८ बजेदेखि आज आइतबार बिहान ८ बजेसम्म कर्फ्यु समेत लगाएकाे थियाे । कर्फ्यु हटाइएपनि आगामी २७ गते राती १२ सम्म निशेधाज्ञा भने जारी रहेकाे छ ।
गृहमन्त्री समक्ष सांसदहरूले मुस्लिम समूदायमाथि लक्षित आक्रमण भइरहेको र धार्मिक सद्भाव खल्बलिने जाेखिम बढेकाे भन्दै तत्काल समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।
गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराउन रास्वपाका साँसद शाहसहित नेकपा एमालेका सेराज फारुकी, माओवादी केन्द्रकी कल्पना मियाँ, जसपाका खालिद सिद्दिकी र जनमतका अब्दुल खान गृह मन्त्रालय पुगेका थिए ।
सांसदहरुको ध्यानाकर्षणपछि गृहमन्त्री श्रेष्ठले धार्मिक सद्भाव बिथोल्नेलाई नछाड्दिने प्रतिबद्धता जनाएका छन् । घटनाबारे अनुसन्धान भइरहेको र दोषी पत्ता लगाएर कारबाही गर्ने उनले बताए ।