काठमाडौं। ललिता निवास प्रकरणमा भाटभटेनी सुपर मार्केटका सन्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागिएको छ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजत कीर्तेमा २ सय ९० जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गरेको थियो। केन्द्रीय अनुसन्धान ब्युरोले संगठित अपराधसमेतमा अनुसन्धान गरेपनि सरकारी वकिल कार्यालयले कीर्तेमा मात्र मुद्धा दायर गर्ने निर्णय गरेको थियो। यो प्रकरणमा अदालतमा अभियोगपत्र पेश गर्दा १८ जना प्रहरी हिरासतमा रहेका थिए।
प्रकरणमा तत्कालिन मालपोत अधिकृत कलाधर देउजा र समरजंग कम्पनीका तत्कालिन सहायक लेखापाल विनोदप्रसाद पौडेलसँग जनही १५ लाख, तत्कालिन भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रुद्रकुमार श्रेष्ठ, शहरी विकास तथा भवन निर्माण विभागका तत्कालिन सिनियर डिभिजनल इन्जिनियर बालकृष्ण श्रेष्ठ, डिल्लीबजार नापी कार्यालयका तत्कालिन सर्वेक्षक घमनकुमार कार्की र डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन खरिदार गोपाल कार्कीसँग जनही ७ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको छ ।
त्यस्तै समरजंग कम्पनीका तत्कालिन कार्यालय प्रमुख लोकहरि घिमिरे, डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन नायब सुब्बा योगराज पौडेल, डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन खरिदार नारायणराज मिश्र, नापी कार्यालय काठमाडौंका तत्कालिन अमिन अरुणकुमार श्रेष्ठसँग ७ लाख ५० हजार धरौटी माग गरेको छ ।
तत्कालिन नापी अधिकृत ध्रुवप्रसाद अर्याल र तत्कालिन वडा सचिव शिवजी भट्टराईसँग जनही ३ लाख ३० हजार रुपैयाँ धरौटी माग गरिएको छ ।
नक्कली मोहीका आरोपित बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन र सञ्जयकुमार महर्जनसँग जनही १ लाख १० हजार रुपैयाँ धरौटी माग गरिएको छ । जग्गा फिर्ता प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएका केशव तुलाधरलाई भने साधारण तारेखमा रिहा गरेको छ ।
ललिता निवासको करिब एक सय ४३ रोपनी सरकारी जग्गा कीर्ते गरेर व्यक्तिको नाममा लगिएको भन्दै विचौलिया, तत्कालिन विभागीय मन्त्री, कर्मचारी र मालपोतका कर्मचारीसमेतलाई प्रतिवादी बनाएर अभियोग दायर गरिएको थियो।