काठमाण्डौ । आजदेखी भारतको नयाँ दिल्लीमा जी-२० को शिखर सम्मेलन सुरुभएकोे छ ।
युरोपेली युनियन सहित १९ वटा ठुला अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी-२० शिखर सम्मेलन नयाँदिल्लीस्थित प्रगति मैदानमा भएको हो ।
शिखर सम्मेलन भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, जापानी प्रधानमन्त्री फुमियो किसिदा, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस शुक्रबार नयाँ दिल्ली आइपुगेका थिए ।
त्यस्तै जर्मन चान्सलर ओलाफ स्कोल्ज, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल, युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल, विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयसस, अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिल्बर्ट एफ होङ्बो, विश्व ब्याङ्कका अध्यक्ष अजय बङ्गा, अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख क्रिस्टालिना जर्जिएभा, अफ्रिकी सङ्घका अध्यक्ष अजाली असुमानी, साउदी अरबका प्रधानमन्त्री तथा युवराज मोहम्मद बिन सलमान अल साउद पनि सम्मेलनस्थलमा आइपुगेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
वान अर्थ– वान फेमिली– वान फ्युचर को सन्देशसहित सुरू भएको सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ अनुपस्थित छन् । दुइ मुख्य राष्ट्र अनुपस्थित भएपछि महत्वपुर्ण विषयमा सहमति जुट्नेमा आशङ्का गरिएको छ ।
आज र भाेली चल्ने सम्मेलनमा सहभागी हुन आएका राष्ट्राध्यक्ष तथा प्रतिनिधिहरूलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मण्डपमस्थित प्रगती मञ्चमा स्वागत गरेका थिए ।
सम्मेलनको उद्घाटनका क्रममा बोल्दै भारतका प्रधानमन्त्री मोदीले अफ्रिकन युनियनलाई जी- २० को स्थायी सदस्य राष्ट्र घोषणा गरे । योसँगै आवद्ध राष्ट्रको संख्या एक युनियनसहित १९ राष्ट्र पुगेको छ ।
जी- २० को स्थायी सदस्यमा अब संयुक्त राज्य अमेरिका, रूस, चीन, भारत, जापान, अष्ट्रेलिया, क्यानडा, बेलायत, अर्जेन्टिना, ब्राजिल, फ्रान्स, जर्मनी, इन्डोनेशिया, इटली, रिपब्लिक अफ कोरिया, मेक्सिको, साउदी अरब, दक्षिण अफ्रिका र टर्की रहेका छन् ।
मोदीले शुक्रबार मोरक्कोमा गएको भूकम्पका कारण भएको जनधनको क्षतिबारे दुःख व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।