काठमाडाैं । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को उद्घाटन गरेका छन्।
आज बिहान पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमबीच भर्चुअल माध्यमबाट देशभरका सबै वडाहरूमा अभियानको उद्घाटन गरेका हुन्।
पार्टीका अन्य पदाधिकारीहरूलाई पनि कार्यक्षेत्रमा खटाइएको छ।
तीन महिनासम्म चल्ने अभियानमा माओवादीका अध्यक्षदेखि प्रदेश पदाधिकारीसम्मका नेता कार्यकर्ता प्रत्येक वडामा जाने र सरकारले गरिरहेका काम तथा माओवादीको योजनाका बारेमा जानकारी गराउनेछन्।
त्यही कार्यक्रम अन्तर्गत माओवादीले प्रत्येक स्थानीय तहमा पहिलो चरणको तयारी बैठक सम्पन्न गरिसकेको छ।
अभियानका लागि केन्द्रीय पदाधिकारी खटिने क्षेत्र पनि तोकिसकेको छ।
जसअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा जिम्मेवारी ताेकिएकाे थियाे ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिशिद्धी, उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका जेलवाङ रोल्पा,अग्नी सापकोटा लिसंखुपाखर ३ सिन्धुपाल्चोकमा र पम्फा भूसाल ललितपुर महानगरपालिका २२ मा खटिएका छन्।
यस्तै महासचिव देव गुरुङ सुन्दरबजार नगरपालिका ८ लमजुङ, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका ४, वर्षमान पुन काठमाडौं महानरपालिका १६, हरिबोल गजुरेल कमलामाई नगरपालिका, जनार्दन शर्मा चन्द्रागिरि नगरपालिका २, शक्ति बस्नेत भेरी नगरपालिका १ जाजरकोट र उपमहासचिव मात्रिका यादव विरेन्द्रनगर नगरपालिका १ मा खटिनेछन्।
माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले अभियानका क्रममा कम्तीमा २५ लाख मतदातासम्म पुग्ने बताएका छन्।