• शनिबार, साउन ९ २०८३

एसीसी एसिया कप बुधबारबाट सुरु हुँदै, उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने


मंगलबार, भाद्र १२ २०८०
1.6K
Shares

काठमाडौँ । क्रिकेटको बहुप्रतिक्षित एसीसी एसिया कप औपचारिक रुपमा बुधबारबाट सुरु हुँदैछ । एसिया कपको उद्घाटन खेलमा नेपालले बुधबार नै आयोजक पाकिस्तानको सामना गर्नेछ ।

नेपाल र पाकिस्तानबीचको खेल पाकिस्तानको मुल्तानमा नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुने तालिका रहेको छ । नेपालले पाकिस्तानविरुद्ध उद्घाटन खेलका लागि मैदानमा उत्रँदा नेपालका लागि एसिया कपमा डेब्यू पनि हुनेछ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो ।

नेपाल पाकिस्तानको सिनियर टिमसँग कुनै पनि फर्म्याटमा पहिलो पटक आमनेसामने हुन लागेको हो । एसिया कपले नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको शीर्ष स्थानको पाकिस्तानसँग खेल्ने अवसर जुराएको छ ।

नेपाल र पाकिस्तानबीचको खेलअघि उद्घाटन समारोह समेत आयोजना हुने तालिका रहेको छ । समूह ‘ए’ मा रहेको नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल भारतविरुद्ध श्रीलंकामा सेप्टेम्बर ४ मा खेल्ने तालिका रहेको छ ।

नेपालले भारतको सिनियर टोलीविरुद्ध पनि पहिलोपटक खेल्न लागेको हो । भारत पनि अहिले आईसीसीको एकदिवसीय वरीयताको तेस्रो स्थानमा छ । एसिया कपलाई नेपालले खेल जित्नुभन्दा पनि सिक्ने ठूलो अवसरको रुपमा लिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले पनि नेपालले जित्ने भन्दा पनि सिक्ने अवसरको रुपमा लिने बताएका छन् । तर कप्तान रोहित कुमार पौडेलले भने पाकिस्तान र भारत दुवै टिमविरुद्ध अनपेक्षित नतिजा निकाल्ने चाहना रहेको बताएका छन् ।

यसैबीच भारतीय ब्याटर केएल राहुलले पाकिस्तान र नेपालविरुद्धको खेल गुमाउने भएका भारतीय टिमका मुख्य प्रशिक्षक राहुल ड्रविडले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार