काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा निषेधाज्ञा जारी गरेको छ । आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको हो ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जारी गरेकाे आदेशमा धरान उपमहानगरपालिका क्षेत्र धार्मिक साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको सम्बेदनशिलतालाई समेत मध्यनजर राखी संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा (२) तथा स्थानिय प्रशासन ऐन , २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८० भदौ ८ गते राति १२ बजेदेखी भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जनाइएकाे छ ।
निषेधाज्ञाकाे समयमा अत्यावश्यक काममा सुरक्षा निकायसग समन्वय गरी बाहेक सामुहिकरुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक, सभा, र्याली भेलाजम्मा प्रदर्शन लगायतका कुनै पनि कार्यक्रमहरु नगर्न भनिएको छ ।
धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । त्यसको प्रतिकारमा समेत उत्रने संभावना देखिएपछि धार्मिक/ साम्प्रदायिक संकट टार्न धरान प्रवेशमा कडाइ गरिएकाे हाे ।
यसैबिच धरानमा शुक्रवार बसेको सर्वदलीय बैठकले साझा विज्ञप्ति निकालेर भोलि शनिवार हुने कार्यक्रम स्थगित गरेर धार्मिक र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् ।
गत श्रावण २६ गतेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले धरान उपमहानगरपालिकालाई डेङ्गी संक्रमण नियन्त्रणमा नआउन्जेलसम्मलाई जनस्वास्थ्य आपतकालिन् अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरिसकेको थियो ।
