• शनिबार, साउन ९ २०८३

ललिता निवास प्रकरणमा अनुसन्धान सकियो, के छ सीआईबीले बुझाएको प्रतिवेदनमा ?


मंगलबार, भाद्र ५ २०८०
1.8K
Shares

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

सरकारी लिखत किर्ते र संगठित अपराधको कसुरमा ५७ दिनसम्म अनुसन्धान गरेर ब्यूरोले दुई सय जना भन्दा बढीलाई मुद्दा चलाउन सिफारिस गर्दै सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको प्रतिवेदन बुझाएको हो ।

प्रहरीले यो प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई साक्षीका रुपमा बयान कागज मात्रै गराइएको छ । प्रतिवादी बनाउन सिफारिस गरिएको छैन ।

प्रहरीले यो प्रकरणमा सोमबार बेलुकी पूर्वमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारसँग बयान लिएको थियो । पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय साहसँग पनि बयान भइसकेको छ । पूर्वमन्त्री डम्बर श्रेष्ठ भने फरार रहेकाले बयान लिन नसकेको सीआईबीको भनाइ छ ।

७७१ पेज लामो अनुसन्धान प्रतिवेदनमा संगठित रुपमा जग्गा घोटाला गर्नेहरुविरुद्ध १८ अर्बबढी बिगो कायम गरिएको छ ।

सीआईबीले जग्गा घोटालामा संलग्न भएका तर, हाल मृत्यु भइसकेकाहरुको सम्पतीबाट पनि बिगो भराउनु मागदावी लिनुपर्ने राय सरकारी वकिललाई दिएको छ ।

जग्गा घोटामा संलग्न २१ जनाको मृत्यु भएको छ । संलग्न मध्येका पूर्व मुख्य सचिव माधव घिमिरे दुर्घटनामा परेर त्रिशुलीमा बेपत्ता भएका थिए । उनको अवस्था अझै अज्ञात छ ।

ललिता निवासमा आफूले खरिद गरेको जग्गा ‘फिर्ता गर्छु’ भनेर ४८ जनाले निवेदन दिएका छन् । काठमाडौँ महानगरपालिका–३१ कमलादी घर भएकी सिपीका खेतानसहित निवेदन दिनेहरुलाई प्रहरीले ‘जग्गा फिर्ता प्रयोजनका लागि मात्र’ प्रतिवादी कायम गर्न राय दिएको छ ।

जग्गा फिर्ता लिने प्रयोजन भन्दा बाहेकका २३८ जनालाई ‘संगठित किर्ते’ गरेर जग्गा हिनामिना गरेको कसुरमा प्रतिवादी कायम गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको ब्यूरोको अनुसन्धान निष्कर्ष छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार