• शनिबार, साउन ९ २०८३

संस्कृत विश्वविद्यालयमा लगाइएका ताला दुई महिनापछि खुले


बिहिबार, साउन ३२ २०८०
1K
Shares

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयमातहतका निकायमा लगाइएका ताला दुई महिनापछि बुधबार खुलेका छन् ।

दाङकाे बेलझुण्डीमा रहेकाे आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालय र सेवा आयोगको कार्यालय मा लगाएको ताला बुधबार खुलेका हुन् ।

नेपाल विद्यार्थी संघले असार ९ गते सेवा आयोगको कार्यालय र १२ गते आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा ताला लगाएको थियो ।

विश्वविद्यालयकै केन्द्रीय कार्यालयमा केन्द्रीय आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले असार ३ देखि लगाएको ताला झन्डै दुई महिनापछि शुक्रबार खुलेको थियो ।

विश्वविद्यालयले तालाबन्दीबारे निकास निकाल्न सहप्रशासक सुरजकुमार लामाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो ।

समिति र विद्यार्थी संगठनबीच बुधबार भएको वार्तामा सेवा आयोगको कार्यालय र आयुर्वेद अध्ययन संस्थानसँग सम्बन्धित मागहरू पूरा गर्ने सहमति भएपछि ताला खुलेको हो ।

वार्तामा सेवा आयोगका सबै परीक्षा लोक सेवा आयोगलाई सञ्चालन गर्न दिने र यसअघिका परीक्षामा अनियमितता भएको भनिएको विषयमा छानविन गर्ने जिम्मेवारी विश्वविद्यालयका उपकुलपति यादवप्रकाश लामिछानेलाई दिने निर्णय भएको छ ।

यसैगरी आयुर्वेदको पाठ्यक्रम परिमार्जन गर्ने, प्रयोगात्मक परीक्षाको छात्रवृत्ति २०७९ साउनदेखि लागू हुने गरी ५० प्रतिशत वृद्धि गर्ने, परीक्षालाई कोडिङ, डिकोडिङ प्रणालीमार्फत सञ्चालन गर्न एक अध्ययन समिति गठन गर्ने र पठनपाठन नियमित सञ्चालन गर्ने सहमति भएको छ ।

सेवा आयोगको कार्यालयमा तालाबन्दी भएपछि असार २१ गतेदेखि हुने उपप्राध्यापक र वरिष्ठ प्रशिक्षकको परीक्षाका साथै असार २७ देखि हुने सहप्राध्यापकका परीक्षा स्थगित भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार