पोखरा । युवा तथा महिलाका मुद्दालाई नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको प्रदेश सभा सांसद मनकुमारी गुरुङले बताएकी छन् । गण्डकी प्रदेश सभा संसदमा नीति तथा कार्यक्रमबारे बोल्दै गुरुङले महिला र युवाको उपेक्षा गरेको बताएकी हुन् ।
महिलाहरुलाई सिपमुलक तालिम, प्रशिक्षण, घरेलु हिंसा, बालविवाहका मात्र कुरा उठाएर नपुग्ने बताउँदै उनिहरुलाई रोजगारीमा संलग्न गराउनु पर्ने धारणा राखिन् ।
वैदेशिक रोजगारमा गएको युवा जनशक्ति स्वदेश फर्किदै गरेको हुनाले तिनीहरूको व्यवस्थापनमा गण्डकी प्रदेश सरकारले ठोस कार्यक्रम बनाउनु पर्ने उनको जोड थियो । नीति तथा कार्यक्रममा रोजगारीको अवसर सिर्जना गर्ने भनेर लाइन लेखेर नहुने बताउँदै के कति संख्यालाई कुन क्षेत्रमा कसरी व्यवस्थापन गर्ने प्रष्ट आउनुपर्ने बताइन् ।
गुरुङले मुख्य मन्त्रि जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रमले आम कृषकलाई सम्बोधन गर्न नसकेको बताउँदै यो कार्यक्रम काटेर हरेक जनताको घरघरमा कृषि विशेषज्ञ लगेर आधुनिक खेती प्रणलीको विकास गरी कृषि उपजको बजार व्यवस्था गर्न जरुरी जरुरी भएको र यसका लागि शुन्य प्रतिशत कृषि ऋण उपलब्ध गराउनु पर्ने धारणा राखिन् ।
गुरुङले पश्चिमाञ्चलकै सबैभन्दा ठूलो गण्डकी अस्पताललाई यो प्रदेशले कोरोना विशेष अस्पताल बनाउनुको सट्टा अन्य सरकारी अस्पताललाई कोरोना विशेष अस्पताल बनाउन आग्रह गरिन् । अन्यथा अन्य रोगको उपचार गराइरहेका जनताहरुले उपचार नपाउने अवस्था आउने बताइन् । यसअघि हामीले एक घर एक पिसिआ परिक्षण भनेका थियौं यो नीति तथा कार्यक्रमले समावेश गर्न नसकेको बताइन् ।