काठमाडौं । अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा गरेको छ ।
आइतबार काठमाडाैंमा आयाेजित कार्यक्रममा नेकपा (एमाले) निकट अनेरास्ववियुले अबदेखि कुनै पनि विश्वविद्यालय तथा क्याम्पसमा तालाबन्दीका कुनै पनि कार्यक्रम नगर्ने सङ्गठनका अध्यक्ष समिक बडालले बताए ।
अध्यक्ष बडालले तालाबन्दीका कारण विश्वविद्यालय र क्याम्पसहरु अस्तव्यस्त भएकाले अखिलले कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी नगर्ने र तल्लो कमिटीलाई तालाबन्दी नगर्न निर्देशन दिएको बताए ।
उनले सामुदायिक विद्यालय सुधार गर्न स्थानीय तहले गरेको कार्यलाई सहयोग गर्ने बताए । विश्वविद्यालयका पदाधिकारी नियुक्ति राजनीतिक नभइ ‘बोर्ड अफ ट्रस्ट’का आधारमा गर्न सरकारलाई दबाब दिने उनले बताए ।