• शनिबार, साउन ९ २०८३

गोरखामा हरेक बर्ष दोब्बरले बढ्दै आप्रवासी स्रोत केन्द्रबाट सेवा लिनेको संख्या

एक बर्षमै तेह्र हजार जनाले लिए सेवा


बुधबार, साउन ३ २०८०
2.5K
Shares

सुदीप श्रेष्ठ
गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखामा रहेको आप्रवासी स्रोत केन्द्रबाट वैदेशिक रोजगारी सम्बन्धि परामर्श, सुझाव तथा सूचना लिनेको संख्या हरेक बर्ष बढ्दै गइरहेको एक तथ्यांकले देखाएको छ ।

सुरक्षित आप्रवासनसम्बन्धी परामर्श तथा सूचना दिने र सूचनाको पहुँच अभिवृद्धि गर्न सञ्चालन भएको स्रोत केन्द्रबाट सेवा लिनेको संख्या हरेक बर्ष दोब्बरले वृद्धि भइरहेको बताइएको छ ।

गत तिन आर्थिक बर्षको तथ्यांकलाई हेर्दा केन्द्रबाट बैदेशिक रोजगारीसम्बन्धि सुचना तथा परामर्श लिनेको संख्यामा हरेक बर्ष दोब्बरले वृद्धि भइरहेको देखिन्छ । आर्थिक बर्ष २०७७/७८ मा केन्द्रबाट एक हजार ९ सय ९८ जनाले सेवा लिएका थिए । जसमा १ हजार ४ सय ५३ जना पुरुष र ५ सय ४५ जना महिला थिए ।

त्यस्तै आर्थिक बर्ष २०७८/७९ मा सो संख्या बढेर ७ हजार ९ सय ८६ पुग्यो । त्यो संख्या अघिल्लो बर्षको तुलनामा ५ हजार नौ सय ८८ ले बढी हो । त्यस्तै भरखरै सकिएको आ.व. २०७९/८० मा आप्रवासी स्रोत केन्द्र गोरखाबाट झण्डै १३ हजारले सूचना तथा परामर्श लगायतका सेवा प्राप्त गरेका छन् ।

केन्द्रबाट गत बर्ष १२ हजार ९ सय १७ जना लाभाञ्वित भएको आप्रवासी स्रोत काउन्सिलर कौसिना मियाँले बताइन् । जसमा ८ हजार २ सय ७३ जना पुरुष र ४ हजार ६ सय ४४ जना महिला रहेको उनको भनाई छ । यो संख्या अघिल्लो आ.व. ७७/७८ को तुलनामा ४ हजार ९ सय ३१ ले बढी हो । केन्द्रले वैदेशिक रोजगारीसंग सम्बन्धित बिभिन्न सूचना तथा परामर्श दिने मियाँले बताइन् ।

जिल्ला प्रशासन कार्यालय गोरखामा राहदानी बनाउन पुगेका नागरिककाे आवस्यकताकाे पहिचान गरि विदेश जानुपूर्व गर्नुपर्ने काम, आवस्यक तालिम, कागजी प्रकृया, जान्नु पर्ने कानून, लाग्ने शुल्क लगायत राेजगारीलाई सुरक्षित र मर्यादित बनाउन केन्द्रबाट निशुल्क रुपमा सूचना, परामर्श सेवा प्रदान  हुने गरेको उनको भनाई छ ।

केन्द्रको सञ्चालन सुरक्षित आप्रवासन कार्यक्रम (सामी) मार्फत भएको कार्यक्रम संयोजक चन्द्र देवकोटाले बताए । जसको सहजीकरण गोरखामा एकिकरण नेपालले गरिरहेको छ ।

नेपाल सरकार र स्वीस सरकारबीच सम्पन्न द्विपक्षीय सम्झौताअन्तर्गत हेल्भेटास (स्वीस इन्टर कोअपरेशनस) को प्राविधिक सहयोगमा गोरखाका चार स्थानीय तहबाट कार्यान्वयन हुने सुरक्षित आप्रवासन ‘सामी’ कार्यक्रम मार्फत केन्द्र स्थापना गरी सेवा प्रवाह भइरहेको देवकोटाले बताए ।

उनका अनुसार केन्द्रले वैदेशिक रोजगारी जानूपूर्वको परामर्श, सूचना प्रदान गर्नुका साथै रोजगारीका लागि विदेश जान चाहनेलाई निशुल्क रुपमा बिभिन्न किसिमका तालिमका लागि सिफिरिस, कानूनी प्रकृयामा सहजीकरण, वैदेशिक रोजगारीका क्रममा अलपत्र परेकालाई समस्यामुक्त बनाउन पहल, विदेशमा मृत्यु भएका श्रमिकको शव स्वदेश ल्याउन पहल, विमा  रकम, आर्थिक सहायता रकम लगायतका बिभिन्न सहयोग उपलब्ध गराउन पहल तथा समन्वयको काम गर्दै आएको छ ।

कार्यक्रमका बारे जिल्ला समन्वय प्रमुख, गोरखा नगरपालिकाका मेयर लगायतले जानकारी लिदैं ।

त्यस्तै बैदेशिक रोजगार बोर्ड मार्फत उलब्ध हुने विदेशमा मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता, बालबालिकाको शिक्षाका लागि छात्रवृत्ति लगायत उपलब्ध गराउनका लागि समेत केन्द्रले पहल र समन्वय गर्दै आएको कार्यक्रम संयोजक देवकोटाले बताए ।

गोरखामा करिब ४ बर्षअघिदेखि गोरखा नगरपालिका, पालुङटार नगरपालिका, शहिद लखन गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाकामा गरी ४ स्थानीय तहमा यो कार्यक्रम लागू भएको बताइएको छ । ति पालिकाहरुमा भने वैदेशिक रोजगारीमा रहेकाको परिवारलाई वित्तिय साक्षरताका कक्षा, रकम वचत, लगानी, मनोपरामर्श लगायतका कार्यक्रम समेत सञ्चालन भइरहेको एकिकरण नेपालले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार