देशैभरका मुस्लिम समुदायले आज बिहिबार बकर इद पर्व मनाउदैछन ।
इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व बकर इदमा बिशेष गरेर पशु चौपायालाई कुर्वानी अर्थात् बलि दिएर मनाउने गरिन्छ । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ ।
इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेश अनुसार बली दिन जंगलमा लगेपछि छोरालाई बली चढाउन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको दुम्बालाई राखिदिएको मुस्लिम धर्मावलम्बीको विश्वास छ ।
यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार १२ औं महिना जिल हिज्जाको १० औं तारिखमा भएकाले यस दिन बकर इद मनाउने परम्परा सुरु भएको मानिन्छ ।
आज बकर इदको नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैंसी, भेडा र ऊँट लगायत चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ । कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ ।
इदकै अवसरमा राष्टपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतले शुभकामना समेत दिएका छन ।