काठमाडौं। राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पुर्याउन निर्देशन दिएको छ।
समितिको आज बसेको बैठकमा समितिका सभापति प्रकाश पन्थले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्दै, औषधि आपूर्ति, दक्ष जनशक्तिको व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।
बैठकमा समितिले स्वास्थ्य बीमामा दोहोरोपन, औषधि अभाव, सेवा प्रवाह चुस्त नभएको बारे स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बीमा बोर्डसँग जवाफ मागेको थियो ।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रममा कमजोरी रहेको स्विकार गर्दै चाँडोभन्दा चाँडो सुधार गरी प्रभावकारी कार्यान्वयन गर्ने बताए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले बीमित आफैले बीमा रकमका लागि चिकित्सकसँग सिफारिस माग्दा दुरुपयोग बढेको र दुरुपयोग रोक्न र बीमितको स्वामित्व बढाउनुपर्ने बताए ।
स्वास्थ्य बीमा बोर्डका निर्देशक डा दामोदार बसौलाले कर्मचारीको अभावका कारण बोर्डको काम प्रभावित भएको बताए ।
समितिले सुर्तिजन्य पदार्थमा लगाउने कर वृद्धि गरी त्यसबाट सङ्कलित रकम स्वास्थ्य उपचार र जनस्वास्थ्य सेवाका कार्यक्रममा खर्च गर्ने व्यवस्था गर्न निर्देशन दिइएको छ ।