काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलमा शनिबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दैछ ।
खेल नेपाल समय अनुसार, १२ः ४५ बजे सुरु हुनेछ । विश्वकप छनोट खेल जिम्बाब्वेमा हुँदैछ । जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेको हो ।
हालसम्म एक जित र दुई हारको नतिजा निकालेको नेपालका लागि नेदरल्यान्ड्सविरुद्धको खेल निकै महत्त्वपूर्ण छ । नेपाली टोली आफ्नो पहिलो खेलमा बलियो जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो ।
यसैगरी समूहगत चरणको आफ्नो तेस्रो खेलमा नेपाली टोली दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग एक सय एक रनले पराजित भएको थियो । समूह ‘ए’ को अङ्क तालिकामा हालसम्म दुई खेल खेलेको वेस्ट इन्डिज चार अंकसहित पहिलो स्थानमा छ ।
यसैगरी तीन खेलबाट एक जित र दुई हारको नतिजा निकाल्दै दुई अङ्क हात पारेको नेपाल तालिकाको चौथो स्थानमा आसीन छ ।
समूहका दुई बलिया टोली वेस्ट इन्डिज र जिम्बाब्वे प्रतियोगिताको सुपर सिक्स चरणमा पुग्ने लगभग निश्चितजस्तै छ । त्यसैले सुपर सिक्स चरणमा पुग्न अब नेपाल र नेदरल्यान्ड्सबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।