• शनिबार, साउन ९ २०८३

संस्मरण: ती रोजा, यी रोजा


सोमबार, जेष्ठ १२ २०७७
1K
Shares

अब्दुल्लाह मियाँ


सायद ५ कक्षामा पढ्थें । विद्यालय घरबाट करिब २० मिनेटको दुरीमा । प्रायःजसो गर्मी सुरु भएपछि हामीहरु माथिल्लो कक्षाका दाई र काकाहरुसंग मिलेर पौडी खेल्न जान्थ्यौं, कहिले दरौंदी त कहिले अँधेरी खोला । दरौंदी थियो, स्कुलबाट दायाँतिर र अँधेरी खोला बायाँतिर ।
घर र स्कुलको बीचमा पर्ने समीको रुखको टोड्कामा किताब राख्यो अनि दौडियो दरौंदी र अंधेरी खोला । अंधेरी खोलामा दुईटा काम हुन्थ्यो, माछा मार्ने र पौडी खेल्न सिक्ने । दरौंदी भने उर्लेर बगेकाले छेउछाउ जानेबाहेक बीचमा जाने हिम्मत कमैले गर्थे ।

अँधेरी खोलामा माछा मार्दै र पौडी खेल्दै अँधेरी खोलाको पुछारमा पर्ने सोह्रढुंगासम्म पुग्ने, अनि भरे फर्केर समिको रुखबाट किताब लिने, साबिककै समयमा घर पुग्ने । त्यती बेला पहिलो पटक म रोजा बसेको थिएं । त्यो रोजा उमेर पुगेर भन्दा पनि रहरले थियो ।

भोकले रन्थनिएपछि जानी जानी रोजा भुल्थ्याै र त्यही आफूले मारेको माछा पोलेर खाइन्थ्यो । घर पुगेपछि भने सबैले ढांट्थ्यौँ, रोजामै छौं भनेर । ढाँट्नुको एउटै उद्देश्य भने सूर्यस्त भएपछि रोजा तोड्ने (इफ्तारी) बेलामा तयार गरिएका मिठा परिकार बुबा आमाहरुसंगै खान पाइन्थ्यो ।
त्यस्तो रहरका रोजा धेरै दिन भने टिक्थेन, रोजा सुरु भएका केही दिन र रोजा सकिने अन्तिमतिर मात्र रोजा बसिन्थ्यो । १० कक्षासम्म पढ्दा बिहान मदरसा पनि पढिन्थ्यो । त्यही धपेडीका कारण नियमित रोजा बस्न भने असमर्थ हुन्थ्यौं ।

कलेज अवधि
एसएलसी दिएर काठमाडाैं आएपछि भने हरेक वर्षको रमजान महिनामा रोजा बस्न थालियो । कलेज अध्ययनका सुरुका दिनहरुमा मेरा रुम पार्टनर थिए, तराई मधेसका नसिम अख्तर, नौशाद आलम, फैज अहमद, आरजूँ अन्सारीलगायत । म पहाडे मुस्लिम । धर्म, संस्कृती उस्तै भए पनि रहन सहन, खानपिन, भेषभुषा र भाषा भने भिन्न ।

गोरखामा बस्दा रोटी वर्षमा एक दुई पटकबाहेक हाम्रो भान्छामा पाक्थेन । उनीहरुसंगको संगतले मलाई दिनहुँ रोटी खान सिकायो, सुकेको खुर्सानी र सखर (गुण) सँग च्यूरा चपाउन सिकायो । अनि सिकियो इस्लामिक ज्ञान पनि । पहाडको तुलनामा तराई इस्लामिक ज्ञानका हिसाबले धनी र अग्रसर थियो र छ नै ।

त्यसैले इस्लामले अनिवार्य गरेका कतिपय कुराहरु र इस्लामलाई गहिरोसँग बुझ्दै जीवनयापनलाई त्यही हिसाबले अघि बढाउन मैले तराईकै साथीहरुबाट सिक्ने अवसर पाएको बताउँदा मलाई गर्ब लाग्छ ।

हुनतः हरेक मुसलमानलाई अनिवार्य गरिएको नमाज (प्रार्थना) रोजालगायतका बारेमा मैंले स्कुले जीवनमै आफ्नै बाजे हाजी नबीबक्स मियाँबाट पनि जान्ने, बुझ्ने र अध्ययन गर्ने अवसर पाएको थिएँ । बाजेसँग तत्कालिन अवस्थामा आवश्यक इस्लामिक ज्ञान हुनुले गर्दा हामी र हामी भन्दा अघिका पुस्ताले धेरै बुझ्ने अवसर पाएका थिए । त्यही बुझाइ जीवनयापनमा अहिले मार्गदर्शक बनेको छ ।

कलेज अवधिका रोजा भने कठिनतम् हुन्थे । कारण, रुख्खा सुख्खा खान्कीकै भरमा उज्यालो नहुँदैदेखि सूर्यस्तसम्म धान्नुपर्ने । मिठो मसिनो र फलफूल त कलेज अध्ययनका धेरै वर्षसम्म चाख्नसमेत पाउनु हाम्रा लागि अहोभाग्य हुन्थ्यो । नियमित त्यही रोटी र मुसुरोको दाल (तराईका साथीहरुले घरबाट ल्याउँथे) हरेक दिनको सहेरी (रोजा सुरु गर्नुअघिको खान्की) र इफ्तारी (रोजा समाप्त गर्दाका खँन्की) को मेनू । तै पनि हाम्रा रोजाका दिन कटेको थाहै हुन्थेन ।

कलेज अध्ययनका केही वर्षपछि भने हाम्रो सम्वन्ध जोडियो इस्लामी संघ नेपालसँग । हामी भन्दा सिनियर दाईहरु शाहदत खान, फिरोज आलम, फिरोज खानलगायतको सम्पर्कबाट हाम्रो सम्वन्ध गाँसिन पुगेको थियो । घण्टाघरमा केन्द्रिय कार्यालय रहेको संघमा अहिले पनि इस्लामिक लाईब्रेरी चलिरहेको छ । इस्लामी संघले हरेक रमजानमा इफ्तारी (रोजा समाप्त गर्नेबेलाको खान्की) गराउन थालेपछि भने हाम्रो जिब्रोले नयाँ स्वाद चाख्न पाउने भयो ।

खानेकुरा ख्वाउनु मात्र संघको उद्देश्य थिएन । विद्यार्थी र पेशाकर्मीहरुलाई एकै ठाउँमा भेला गराएर रोजा र इस्लामका बारेमा सचेतना दिने मुख्य उद्देश्य हुन्थ्यो । हरेक वर्षको रमजान महिनामा इफ्तारीका लागि संघको कार्यालय जान थालियो । रोजा सकिनुअघि हरेक दिन इस्लाम र रोजाका बारेमा इस्लामका जानकार र विज्ञहरुबाट छोटा छोटा क्लास हुन्थ्यो । त्यहाँबाट नयाँ साथीहरुसँगको सम्पर्क त बढ्यो नै सँगै इस्लामको ज्ञानसमेत हासिल गर्ने सुखद् अवसर मिल्यो ।

पत्रकारिता सुरुपछि
कलेज अध्ययनकैक्रममा पत्रकारिता थालेपछिका रोजाको अनुभव भने फरक फरक छ । पत्रकारिता सुरुआतका दिनका वर्षहरुका सबैजसो रोजा रोमान्चक हुन्थे । काँधमा जिम्मेवारी धेरै नहुने र समय पनि प्रशस्त हुने भएकाले नियमितजसो मस्जिदमा पाँच पटकको नमाज पढ्ने र तराबिह (रोजामा बेलुकी पढिने विशेष नमाज) मा सहभागि हुने । अँझ भन्नुपर्दा धार्मिक गतिविधिमै व्यस्त बन्न सहज हुन्थ्यो ।

मूलधारको पत्रकारिताले व्यस्तता बढाएपछि भने रोजामा उतार चढाब आयो पनि ।
रमजानमा एक महिनासम्म निराहार रोजा बस्नुपर्ने धार्मिक विश्वास छ । कुनै एक रोजा छुट्यो भने पनि पापको भागिदार बन्नुपर्ने । तर दुःखका साथ भन्नुपर्दा फिल्ड रिपोर्टिङका क्रममा मैंले कयौं रोजाहरु बीचमै छोड्नु परेको तितो यथार्थ छ । केही वर्ष रुममा एक्लै बस्दा मंैले रोजालाई निरन्तरता दिन सकिन ।

परिवारसँग बस्न थालेपछि रोजाले निरन्तरता पाए, सँगै सहजता पनि । फिल्डमा रोजा छाड्नुका पछाडि भने कारण पनि छन्, सहेरी (रोजा सुरु गर्नुअघि सूर्योदय हुनुभन्दा एक घण्डाअघि खाइने खान्की) उपलव्ध नहुँदा र कतिपय अवस्थामा स्वास्थ्यले साथ नदिंदा । त्यसरी बीचमा छुटेका रोजा इद सकिएपछि पूरा गर्न सकिने छुट भएकाले कयौं रोजा पछि पूरा गरियो पनि ।

कोरोना अवधिमा
यो पटकका रोजा भने यसअघिका भन्दा भिन्न र रोमान्चक रहे । कारण, लकडाउन । कोरोना संक्रमण रोक्ने उद्देश्यले चैत ११ देखि नै लकडाउन सुरु भयो र यही बीचमा पर्यो रोजा पनि । १३ वैशाखबाट सुरु भएको रोजा जेठ १२ मा (आइतबार) सकिएको छ । घर भित्रै सीमित हुनु नै कोरोना संक्रमणबाट जोगिने अचुक उपाय भएकाले बाहिर निस्किने कामै भएन, निस्किने कुरै पनि भएन ।

झन् रोजा यही अवधिमा परेपछि अघिल्ला वर्षमा जस्तो रोजा बसेका बेला धपेडी गर्नुपरेन । अहिलेसम्मकै जीवनमा पहिलो पटक ३० वटै रोजा कोठाभित्र बसेर पूरा गरियो । रोजा मात्र पूरा गरिएन, जीवनमै पहिलो पटक ५ पटकका नमाज (प्रार्थना) घरभित्र निर्धारित समयमा पूरा गर्न पाएँ, यस्तो सुखद अवसर मिलाइदिएकामा कोरोनालाई धन्यवाद भन्नै पर्छ ।

बिगतका वर्षहरुमा रोजाका बखत पनि रिपोर्टिङलगायतका कामका लागि फिल्डमा कुद्नु पर्दा रोजा राखे पनि नमाजको ठेगान हुन्थेन । धेरै साथीहरुले भनेअनुसार रोजाको अवधिमा दिउँसोको समयमा गफ गरिरहँदा पनि म क्षणभरमै निदाईंदिन्थे जहाँ जुनसुकै अवस्थामा पनि ।

गत वर्ष रोजाकै अवधिमा रिपोर्टिङका लागि ललितपुरको हात्तीवनस्थित् डिभिजन वन कार्यालयमा डिभिवन वन अधिकृत जयमंगल प्रसादसँग कुरा गरिरहँदा टेबुलमै झुपुझुपु निदाएको सुनाउँथे । घण्टौंसम्म पानीसमेत नपिउने भएकाले गर्मीमा सकस हुनु स्वभाविकै हो ।

लकडाउनले घरमै बस्ने बानी परेपछि दैनिकीसमेत बदलियो । रातभरी जाग्राम । बिहानीपख निद्रा । रोजाको अवधिमा पनि त्यही कायम भयो, अहिले पनि भइरहेको छ । सहेरीको समय ३ बजे आसपास हुने भएकाले ३० दिनसम्मै त्यसअघि निदाइएन । सहेरी खाएर ४ बजेतिर फज्रको नमाज (बिहानपखको प्रार्थना) पढेर ढल्केपछि भने क्षणभरमै निदाइने । सायद भाते निद्रा ।

बिहानको ११ बजेसम्म आँखा नखुल्ने भएकाले ३० अ‍ै दिन मैंले बिहानपखका कसैको पनि फोन रिसिभ गर्न सकिन । त्यसका लागि सबैसँग क्षमा माग्छु । रोजा भनेको भोकै बस्नु मात्र होइन । सबै अंग (आँखा, कान, हात, खुट्टा, मष्तिस्क) का पनि रोजा हुने भएकाले रोजाअवधिभर पालना गर्ने कोशिस रह्यो ।

रोजाको अवधिमा बन्देज लगाइएका बस्तु आँखाले हेरिएन, बन्देज लगाइएका कुराहरु सुनिएन, बन्देज लगाइएका काम गरिएन, बन्देज लगाइएको ठाउँमा गइएन र बन्देज लगाइएका कुराहरु सोचिएन । इस्लामका प्रवर्तक मोम्मद सल्लल्लाहु अलैहिवस्सल्लमले भनेका छन्, तिमी रोजामा छौ भने न अश्लिल कुरा गर । न त झगडा र दंगा फसाद र होहल्ला नै ।

यदी कोही गालीगलौचमै उत्रियो भने भनिदेउ, म रोजामा छु । यो रोजासँगै मैले प्रण पनि गरेको छु, अबका दैनिकी रोजामा जस्तैगरी अघि बढाउन प्रयत्न गर्नेछु र सम्पूर्ण ज्ञानिन्द्रिय अंगहरुलाई त्यसअनुरुप ढाल्नेछु । अब रोजा वा इस्लामले निर्देष गरेका अन्य आधारस्तम्भहरुको मैंले अक्षरशः पालना गर्नुपर्छ, रहरले होइन जिम्मेवार र कर्तव्यनिष्ठ भएर ।

अन्त्यमा, सबैलाई इद मुबारक ।

याे लेख कान्तिपुर दैनिकबाट साभार गरिएकाे हाे । मियाँ साेही दैनिकमा आवद्ध पत्रकार हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार