
गोरखा न.पा. २, गोरखा
मदीनाका ताजदार, नबीहरुका सरदार, परोक्ष कुराहरुका जानकार हाम्रो प्यारा नबी हजरत मुहम्मद (उहाँ माथी करोडौं दुरूद र सलाम) को महान वाणी छ: “मोमिन (मुसलमान) को रोजा (उपवास) जमिन र आकाशको बिचमा अड्किरहनेछ जबसम्म सदका ए फित्र (धार्मीक दान) अदा (निष्कासन) गरिदैन।”
(कन्जुल उम्माल, भाग ८, पृष्ठ २५३ हदिस २४१२४)
सदका ए फित्र कति अनि कसरी निकाल्ने ?
सदका ए फित्र बिभिन्न किसिमका वस्तुहरुको तौलको परिमाणमा निकाल्न सकिन्छ। सामन्यतया सदका-ए-फित्र गहुँको तौलको परिमाण ले निकाल्ने प्रचलन रहिआएको छ। करिब १ केजी ९२० ग्राम गहुँ वा सो बराबरको रकम गरिबलाई दान दिने गरिन्छ। यसको अलावा जौ को तौलको हिसाबले पनि सदका ए फित्र निकाल्न सकिन्छ। जौ को हिसाबले दिने हो भने ३ केजी ८४० ग्राम वा सो बराबरको रकम हुन आउँछ।
यसै गरि खजुरको हिसाबले पनि सदक ए फित्र निकाल्न सकिन्छ त्यसको लागि पनि ३ केजी ८४० ग्राम खजुर वा सो बराबरको रकम हिसाब गरेर दिनुपर्ने हुन्छ। किसमिसको हिसाबले पनि सदका ए फित्र दिन सकिन्छ यसका लागि पनि ३ केजी ८४० ग्राम किसमिस वा सो बराबरको रकम हिसाब गरेर दिन सकिन्छ।
माथी उल्लेखित कुनै पनि वस्तुहरु वा सो बराबरको रकम मध्य कुनै एक किसिमको वस्तु वा सो बराबरको रकम हिसाब गरेर सद्का ए फित्र निकाल्न सकिन्छ। सामान्यतया हामीकहाँ गहुँको हिसाबमा मात्र सदका ए फित्र निकाल्ने गरेको पाईन्छ। तर यदि अल्लाह पाकले तपाईलाई धन सम्पत्ती प्रदान गरेका छन् , तपाईं धनी हुनुहुन्छ भने आफ्नो जीवनशैली अनुसार जौ, खजुर वा किसमिसको हिसाबमा सदका ए फित्र निकालेर गरिबलाई दान दिनुहोस।
जसरी हामीले कुर्बानी ईदको समयमा राम्रा राम्रा महँगा जनावरहरु अल्लाह पाकको बारगाहमा कुर्बान गर्छौ, त्यसरी नै सदका ए फित्र निकाल्दा पनि सकेसम्म महँगो वस्तुको हिसाबले धेरै रकम निकाल्नु उत्तम हुन्छ। यद्यपि गहुँको हिसाबले सद्कए फित्र निकाले पनि वाजीब अदा हुन्छ। धेरै सदका ए फित्र निकाल्दा तपाईको सम्पत्तीमा कमी आउने छैन बरु अल्लाह पाकको कृपाले थप बरकत प्राप्ती हुनेछ।
स्थानिय बजार भाउ अनुसार फरक फरक गाउँ /शहर अनुसार माथी वर्णन गरिएका वस्तुहरुको रकम फरक फरक हुन सक्नेछ्न्
सदका ए फित्र कसमाथी अनिवार्य छ ?
जो मुसलमान साहिब ए निसाब छ अर्थात जो सङ्ग हाजते असलिय्या (दैनिक गुजारा चलाउन नितान्त आवश्यकताका सामान) भन्दा बाहेक ७.५ (साढे सात) तोला सुन वा ५२.५ (साढे बाउन्न ) तोला चादी वा सो बराबरको सम्पत्ती छ भने उसले सदका ए फित्र निकाल्नु अनिवार्य छ।
सो व्यक्तीले आफ्नो परिवारमा जति जना सदस्य छ्न त्यति जना बराबर नै सदका ए फित्र निकाल्नु पर्ने नै हुन्छ। मानौँ कि गहुँको हिसाबले सदका ए फित्रको रकम १०० रुपैया हुन्छ र कुनै व्यक्तीको परिवारमा ५ जना सदस्यहरु छन भने अब उसले जम्मा ५०० रुपैया सदका ए फित्र निकाल्न पर्ने हुन्छ।
यसै गरि कोहि अझै बढी धनी छ र उसले जौ, खजुर वा किसमिसको हिसाबले सदका ए फित्र दिन चाहन्छ भने उक्त वस्तुहरुको बजार भाउ किलोको कति छ? पत्ता लगाउने अनि त्यसबाट ३ केजी ८४० ग्रामको हिसाब निकाल्ने अब कति हुन आउँछ त्यो रकमलाई आफ्नो परिवारको संख्याले गुणा गर्ने र अब जम्मा हुन आएको रकम सदका ए फित्र निकालेर दान गर्ने।
सद्का ए फित्र निकाल्नु को तात्पर्य
रमजान महिना भरी रोजा राख्दा यसमा हुन गएका विभिन्न कमीकमजोरी तथा त्रुटीहरु लाई सदका ए फित्रले परिपूर्ती गरिदिन्छ। यसै गरि हामीले निकालेको सदका ए फित्र दिन दुखी, गरिब गुरुवालाई रमजान महिनामा नै वा ईद उल फित्रको नमाज पढ्न भन्दा अगावै दान दिईसक्नुपर्ने हुन्छ।
जसले गर्दा दिनदुखी तथा गरिबहरुसङ्ग पनि रकम संकलन हुन जान्छ अनि उनीहरुले पनि ईद उल फित्र पर्व हर्सोल्लासका साथ मनाउन सक्नेछन। यदि कुनै कारणवस ईद उल फित्रको नमाज भन्दा अगाडी सम्म पनि सदका ए फित्रको रकम दान दिन सकिएको थिएन भने नमाज पछि पनि उक्त रकम दान गर्न सकिन्छ।