• शनिबार, साउन ९ २०८३

आलिमको स्थान र हाम्रो समाज


सोमबार, जेष्ठ ५ २०७७
2.2K
Shares

अब्दुल अजिज कादरी 

हाम्रो इस्लाम धर्मलाई फ़ैलाउने र बचाउने काम समयअनुसार कुनै न कुनै  हस्तिहरुले गर्दै आउनुभएको छ। यो काम हरेक हस्तिहरु समयअनुसार सहाबी, ताबई, तब्ए ताबईन, अइम्माए मुज्तह्दिनहरु बाट भए।

अहिलेकोहरुले आफ्ना पछिल्लो पुस्ताहरुलाइ सुम्पेका छन् । जब अल्लाहका अन्तिम सन्देष्टा हुजुर मुहम्मद सल्लल्लाहु अलैही वसल्लम यो धर्तिमा आवगमन हुनुभयो, तब यो काम उहाँबाट थालनी भयो। त्यसपछि यी कार्य समयमा पनि यी कामहरु भैरहेका छ्न् र अहिलेको समयमा यी कामहरुलाई  आलिमहरुले अन्जाम दिएका छ्न र दिनेछन्। 

आज यस विषयलाई उठान गर्नुको कारण यसप्रकारको छ। आज हाम्रो इस्लाममा कुनै हमला हुन्छ, यस हमलालाइ रोकेर यसको जवाफ दिने काम यी आलिमबाट हुन्छ। हामी इस्लामको बाटोबाट भड्किएर लड्न थाल्छौ, तब यी आलिमहरुले हात अघि बढाएर हामिहरुलाइ सत्मार्गमा ल्याउनु हुन्छ।

जब हामी जहन्नम (नर्क) को बाटो हिडिरहेका हुन्छौँ , तब खबरदारी गराएर हामिलाइ जन्नत(स्वर्ग)को बाटोमा लम्क्याउने काम गर्नुहुन्छ। अनेकौं गाली र कुरा सुन्दासुन्दै पनि हामी माझ मिठो मुस्कानका साथ हामिलाइ इस्लामको बारेमा सिकाउनुहुन्छ। पारिवारिक जिम्मेवारी र अनेकौं जिम्मेवारी हुदाहुदै पनि मासिक १२/१३ हजार तलब लिएर केबल अल्लाहको दिनको लागि अनेकौं बलिदानि दिएर पनि हामिलाइ इस्लामसँग जोड्न मदत गरिरहेका हुन्छन्।

जब यी सबै हाम्रो भलाइका निम्ति यति गर्दैछन् भने हाम्रो पनि त केहि जिम्मेवारी छ होलानि उहाँहरु माथी।    ज्ञान दिने(सिकाउने) मामिलामा जाऔँ, आज हाम्रो इस्लामको नितिनियमको बारेमा चाहे त्यो अकिदाको बारेमा होस् , चाहे त्यो नमाजको बारेमा होस् , चाहे रोजाह् को बारेमा होस्, चाहे इस्लामको जुनसुकै विधाको बारेमा होस्  , हरेक कुरा आलिमहरुले नै ब्यक्त गर्नुहुन्छ। तर यिनिहरुको इज्जत, सम्मानको बारेमा बोल्ने को ?

हुनत यस विषयमा नि आलिमहरुले भन्नुहुन्छ, तर उहाँहरुलाइ यो विषय उठान गर्न निकै गाह्रो छ आजको हाम्रो समाज हेरेर किनकि यस विषयमा कुरा गर्न थाले भन्न थाल्छन् “आफ्नो इज्जत  गराउनको लागि , इज्जत पाउनको लागि यति भन्दैछ।´´ त्यसकारण एक तालिबे इल्म ( विद्यार्थी) का हैसियतले यो विषयलाई उठान गर्दैछु।  जब यिनिहरु हाम्रा रक्षक हुन् हाम्रो नि जिम्मेवारी छ कि उनिहरुलाइ मनदेखी स-सम्मान गरौँ, उनिहरुको ख्याल गरौँ। 

परिचय :

आलिम अर्थात इस्लामिक धर्म गुरु:जस्ले मानव जिवनमा आउने धार्मिक मसाइल हरु लाई कुरआन र हदीस मार्फत हल गर्ने गर्दछन। कुनै व्यक्ति ले शरियत(धर्म शास्त्र)का कुरा लाई गलत तरिकाले बयान गर्छ भने त्यस्लाई सही गरेर सही मार्ग देखाउन सक्ने क्षमता राख्ने तथा अल्लाह तआला र नबि ए करिम सल्लल्लाहो अलैही वसल्लम को सन्देश लाई मानिसहरुका सामु सही तरिकाले प्रस्तुत गर्ने व्यक्ति लाई आलिम भनिन्छ।

आलिम जो पाए त्यही बन्न सक्दैन , जसमाथी अल्लाहको खास कृपा हुन्छ त्यही आलिम बन्छ। यस विषयमा प्रकाश पार्दै हुजुर नबिए करिम सल्लल्लाहु अलैही वसल्लम भन्नुहुन्छ “ जब अल्लाह कुनै ब्यक्तिप्रती भलाइको इरादा गर्नुहुन्छ तब उसलाई दिनको बारेमा ज्ञान प्रदान गर्नुहुन्छ´´ मत्लब आलिम बनाउनुहुन्छ। 

आलिमको शान :

हुनत अल्लाहले आलिमहरुलाइ कति इज्जत र सम्मान प्रदान गर्नुभएको छ यस विषयमा विस्तृत रूपमा वर्णन गर्न गाह्रो नै छ। उहाँहरुको शान र इज्जत कयामतको दिन यसरी छर्लङ्ग हुनेछ , सामान्य मानिसहरु हिसाबकिताबको लागि रोकिनेछन् तर आलिमहरुलाई शफाअत ( सिफारिस)का लागि रोकिनेछ। 

आलिमहरुको शानमा कुर्आनमा ,हदिसमा र बुज्रुगाने दिन(महान विद्वान)हरुको भनाइ थुप्रै भेट्टाउन सक्छौँ यसमध्ये हामी केहिलाइ यहाँ समेट्नेछौ। 

कुर्आन

१)  “ व तिल्कल् अम्षालु नद्रि बुहा लिन्नासी वमा एअ्किलुहा इल्लल् आलमिन´´अल्लाह भन्नुहुन्छ “ तथा यी उदाहरणहरु,जसलाइ हामी मानव जाती हरु का लागि वर्णन गर्छौँ ।

तर तिनीहरु लाई केवल ज्ञान वाला व्यक्ति (आलिम)हरु ले मात्र बुझ्न सक्दछन् ।´´

२) “शहिदल्लाहु अन्नहु लाइलाह इल्लाहुव वल्मलाइकतु व उलुल् इल्मि´´ अल्लाह भन्नुहुन्छ“अल्लाह ले गवाही दिनु भयो,उहा(अल्लाह) बाहेक अरु कोइ पुजनिय छैन,र फरिश्ताहरु तथा आलिम हरु ले।

´´यहाँ अल्लाहले आफुले गवाही दिनुभयो कि अल्लाह बाहेक कोही पुजनिय लायक छैन र आफ्नो यस गवाहीका साथ फरिश्ता र आलिमहरुको गवाहीलाई पनि जोड्नु भयो। हदिष

१. हुजुर सल्लल्लाहु अलैही वसल्लम भन्नुहुन्छ“जसले आलिमको स्वागत गर्यो खासमा उसले मेरो स्वागत गर्यो , जो आलिमलाइ भेट्न गयो खासमा उ मलाई भेट्न आयो , जो  आलिमसँग बस्यो खासमा उ म सँग बस्यो र जो म सँग बस्यो उ अल्लाहको बारगाहमा बस्यो  ´´

२. “ पाँच कुराहरु इबादत(प्रार्थना) मा शामिल छन्, १] थोरै खानु २] मस्जिदमा बस्नु ३] काअ्बालाइ हेर्नु ४] कुरानलाइ हेर्नू  ५] आलिमको मुहार हेर्नु ।´´

३. “आलिमको सुत्नु पनि इबादत हो।´´

केही महान विद्वानका भनाइहरु

१. हज्रत इब्ने अब्बस रदियल्लाहु अन्हु वर्णन गर्नुहुन्छ “ आलिमसँग बस्नु पनि इबादत हो।´´

२. हज्रत अबुदर्दा रदियल्लाहु अन्हु वर्णन गर्नुहुन्छ“ आलिमको लागि आकाश र जमिनमा रहेका हरेक चिजहरुले र पानीबाट माछाहरुले नि मग्फिरतका लागि दुवा गर्छन।

३. हज्रत अबुहुरेराह वर्णन गर्नुहुन्छ“ कोहि ब्यक्ती आलिमको पछाडि नमाज पढ्यो भने बास्तबमा त्यसले नबिहरु मध्ये कुनै नबिको पछाडि नमाज पढ्यो।´´

 आलिम र गैर आलिम बिच भिन्नता

आलिम र गैर आलिममा जमिन आकाशको फरक छ। किन हामिमा र आलिममा यति धेरै अन्तर? यिनिहरुमा विशेष के छ त्यस्तो? कुन कुराले यिनिहरुलाइ महान बनायो? यसकारणले यिनिहरु महान छन् , जुन अमुल्य धन यिनिहरु सँग त्यो धन हामिहरुसँग छैन। त्यो धन हो इल्म(इस्लामिक ज्ञान)।

इल्म(इस्लामिक ज्ञान) एक यस्तो धन हो जोसँग भएर यसको सदुपयोग गर्दछ, त्यसले जन्नत (स्वर्ग) पाउदछ भने यो धन नभएको खण्डमा जहन्नम(नर्क) जाने सम्भावना धेरै हुन्छ। इल्म एक यस्तो प्रकाश हो,जब हाम्रो जिबनको यात्रामा यो प्रकाश छ भने जिबनको हरेक गुनाह(कुकर्म)का अन्धकारलाई नष्ट गरेर सत् मार्गमा हिडाल्न मदत गर्दछ। इल्मको कति महत्त्व छ भनेर हामी एउटा भनाइ बाट पत्ता लगाउन सक्छौ।

हज्रत अलि रदियल्लाहु अन्हु भन्नुहुन्छ,“यदि मलाइ कसैले एउटा मात्रपनि नया कुरा सिकाउछ भने म त्यसको गुलाम चाहे त्यसले मलाई बेचिदियोस्।´´ अब एउटा हदिषलाइ पनि हेरौँ।  कुनै ब्यक्तिले हुजुर नबि ए करिम सल्लल्लाहु अलैही वसल्लमलाइ सोधे“दुइजना यस्ता ब्यक्तिहरु छन् जसमध्ये एक जना अल्लाहको इबादत (प्रार्थना) गरिराख्छ यसैमा ब्यस्त रहन्छ , अर्को ब्यक्ति फर्ज(अनिवार्य)  इबादत बाहेक नफ्ली इबादत गर्दैन तर अरु मानिसहरुलाइ इल्म सिकाउछ, यसमध्ये उत्तम ब्यक्ति को हो ?

´´हुजुर सल्लल्लाहु अलैहि वसल्लम जवाफ दिदै भन्नुहुन्छ“ यस आलिमको उत्तमता अर्को ब्यक्तिप्रति यसरी छ जसरी मेरो उत्तमता तिमिहरुको कुनै सानो ब्यक्ति प्रति र म भन्छु जबसम्म इल्म हासिल गरिदैन तब सम्म इबादतहरु पनि सहि हुदैनन्।´´अब एउटा वाकियालाइ प्रस्तुत गर्छौ , यहाबाट अनुमान लगाउनु कि आलिम र गैर आलिममा कति भिन्नता छ। 

यहि भिन्नता छुट्ट्याउनको लागि एकचोटि इब्लिस(शैतानले) आफ्ना चेलाहरुलाइ लिएर एक आबिद(प्रार्थना गरिराख्ने ब्यक्ती) कहाँ मानिसको रुपधारण गरेर गयो र खल्तिबाट एउटा सिसाको बोत्तल निकालेर सोध्यो “ आबिद साहब , अल्लाह् सँग यति ताकत छ कि यो जमिन र आकाश यस सिसामा राख्न सकोस्?´´

आबिद सोचमा परे एक नजर आकाश जमिन तिर एक नजर सिसाको बोत्तल तिर लगाउदै भने“ कहाँ यत्रो आकाश जमिन र कहाँ यत्रो सानो सिसाको बोत्तल यो त असम्भव कुरा हो।´´ भन्दै अल्लाहको शक्तिको इन्कार गर्यो र आफ्नो इमान(आस्था) बर्बाद गर्यो।  सैतान मैले जवाफ पाए भनेर त्यहा बाट गयो र एक आलिमकहा पुग्यो। त्यहि सिसाको बोत्तल देखाउदै त्यही प्रश्न आलिमसँग पनि गर्यो। आलिमले झट्टै यसको जवाफ दिनुभयो“

तिमी मेरो अल्लाहको शक्तिको बारेमा कुरा गर्छौ यो बोत्तल त धेरै ठुलो कुरा हो यदि अल्लाहले चाहनु भयो भने यो सात जमिन आकाश सुइँको टुप्पोमा अड्याउन सक्नुहुन्छ।´´हामिले यहाबाट थाहा पाउन सक्छौं आलिम र गैर आलिममा कति भिन्नता छ भनेर। गैरआलिमहरुसँग ईमान(आस्था) त हुन्छ तर यसलाई बचाउने कुनै अस्त्र हुदैन ।

तर आलिमहरुसँग जुन अस्त्र हुन्छ त्यसकारण जसले पाए त्यसले सजिलै ईमान लुट्न सक्दैनन् ।  सैय्यदी आलाहज्रत इमाम अहमद रजा खान भन्नुहुन्छ“ यदि कोहि आलिम बसिरहेको छ र कुनै नमाजको समय सकिने बेला हुदैछ , आलिमलाइ यसको खबर छैन त्यसबेला यदि कुनै गैर आलिम गएर भन्छ कि नमाज पढ , गैर आलिमको लागि यो जायज छैन।

आलिमको स्थान र हाम्रो समाज

आज हामी हाम्रो समाजमा देख्न सक्छौं आलिमको स्थान, आलिमको इज्जत, आलिमको सम्मान कस्तो छ भनेर । आज हामिले आलिमहरुलाइ आलिम सम्झिन छोड्यौँ। हामिले केबल मद्रसामा बच्चाहरुलाइ पढाउने र मस्जिदमा नमाज पढाउने ब्यक्तिभन्दा अरु केही सम्झिदैनौ। तर बास्तबमा भन्ने हो भने आज हामिहरुको जिबनको हरेक मोडमा यिनै आलिमको आवश्यकता परेको देख्दछौं।

आलिमको आवश्यकता हाम्रो जन्मदेखी मृत्युसम्मनै छ। कुनै बच्चा जन्मिन्छ अजान र तक्बिरको लागि, त्यही आलिम। ६/७ दिनपछि अकिका हुन्छ , त्यही आलिम। अब बच्चा अलि ठुलो हुन्छ मद्रसाको शिक्षा हासिल गर्नुपर्यो, त्यही आलिम। अब जवान हुँदै जान्छ, निकाह गर्नुपर्यो , त्यही आलिम। अब उसको सन्तान हुन्छ फ़ेरि त्यही चक्र सुरु हुन्छ र जब उसको मृत्यु हुन्छ , जनाजाह् को लागि , त्यही आलिम। कुनै नया व्यापार, नया घरमा बसाइँसराइ तथा अन्य खुसियालिको अवसरमा सिर्नी फातिहा तथा मिलाद गर्नपर्यो, त्यही आलिम।

जब आलिमहरु प्रती यति निर्भर छौं र हामिमा अलिकति लाज/शरम भन्ने कुनै चिज पनि छ भने हामिले पनि उनिहरुको मनैदेखी सम्मान गर्नुपर्यो नि।  केबल आफ्नो काम हुन्जेल देखावटी इज्जत गर्छौँ , कामसकिएपछी यो मौल्वी यस्तो त्यो मुल्ला उस्तो भन्न थाल्छौं। अझ विडम्बनाको कुरा के छ भने , आलिमप्रती त्यस्ता ब्यक्तिहरुले आलोचना गर्छन् , जसले इदको नमाजको लागि दायाँबायाँ हेरेर हात उठाउने गर्दछन्।

आलिमहरुप्रती आलोचना गर्ने के हाम्रो यत्रो औकात छ? पहिला आफुलाइ त चिनौं। हुदाहुदै कोही त अलिअलि पढेलेखेको भरमा आलिमसँग बहस गर्दैछ शरियतको मामिलामा , माजल्लाह ।आज हामी आलिमहरु सँग टाढा यसकारणले नि भयौं , आलिमहरु गुनाहबाट रोक्ने काम गर्नुहुन्छ। जबसम्म हामिलाइ केही भन्दैनन् तबसम्म मामिला ठिक हुन्छ तर जब हामिबाट कुनै गुनाह हुन्छ अनि यस्तो नगर भनेर हामिलाइ सल्लाह दिनुहुन्छ , अब हाम्रो घमण्डिपन बाहिर निस्कन थाल्छ अनि हामी भन्न थाल्छौं“ तँ जाबो एउटा मुल्ला भएर मलाइ यस्तो भन्ने म एक इज्जतदार धनी, डाक्टर, इन्जिनियर इत्यादि हुँ।´´

अरे जब हामिले आलिमहरुलाइ यहि कामको लागि राखेका हौँ भने त्यही काम गर्दा उल्टै हामी नै रिसाउने? के अचम्म हो यो? अझ कोही त सलाम गरेन भनेर नि रिसाउने। अचम्म।अब भन्नुहोला आलिमहरु घमण्डी हुन्छन् उनिहरु हामिसँग राम्ररी कुरा गर्दैनन्  सबैभन्दा पहिला यो कुरा बुझौँ कि आलिमहरु कम बोल्ने खालका हुन्छन् यसलाई घमण्ड भन्न मिल्दैन , यद्यपि यदि कोहि बोल्ने खालकानै भएतापनी यसकारणले बोल्नुहुन्न कि त तपाईं ले आलिमको र इल्मको इज्जत गर्न जान्नु भएन या त तपाई इल्मको दुरुपयोग गर्नुहुन्छ या त तपाईं मपाइ गर्ने र घमण्डी ब्यक्ती हुनुहुन्छ।

किनकी कुनै कुरा दिनको लागि लिन पनि जान्नु पर्दछ  जब उनिहरुले दिइरहेका हुन्छन् हामिले लिन जानेका हुदैनौं। जब हाम्रो नै दोष छ भने उनिहरुलाइ दोषी बनाउन त मिलेन नि। अझ हाम्रो समाजमा आलिम भनेर केबल तिनिहरुलाई मात्र सम्झिन्छौ जो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रख्यात छन् , हाम्रो समाजमा बसेका र त्यही हुर्केका आलिमलाइ आलिम सम्झिदैनौ। आखिर उ पनि आलिम नै हो। नजिकको तिर्थ हेला नगरौं।

इस्लाम पतन हुनुका कारण: 

हजरत अब्दुल्लाह इब्ने अम्रु (रदि अल्लाहु अन्हु) बर्णन गर्नु हुन्छ कि हुजुर नबि करिम सल्लल्लाहु अलैही वसल्लम ले बयान गर्नु भयो“अल्लाहले मानिस लाई ज्ञान प्रदान गरि सके पछि उस्को हृदय बाट कहिलै पनि फिर्ता लिदैनन् ।बल्की ज्ञान नष्ट हुनु भनेको आलिमहरु को मृत्यु संगै हो।

र त्यसपछि  मानिसहरु जाहिल(अनपढ) लाई आफ्नो सरदार बनाउनेछन्  र उनिहरु संग प्रश्न सोध्नेछन तसर्थ उनिहरु ज्ञानबिना नै उत्तर दिनेछन र आफू पनि गुमराह हुनेछन र अरुलाइ पनि गुमराह गर्नेछन।आजको परिस्थिति सोही हदिषसँग हाम्रो समाजसँग मिल्दोजुल्दो देख्न सक्छौ। आज हामिले जो बर्षौं मेहनत गरेर इस्लामीक शिक्षा हासिल गरेका आलिमहरुलाइ महत्त्व दिन छोड्यौं बरु जो हिजोसम्म डाक्टर या इन्जिनियर पढ्ने ब्यक्ति आज 2/4 वटा किताब पढेर आज क्यामेराका अगाडि आयो, हामिले त्यसलाई महत्त्व दिन थाल्यौं।

जो कुर्आनका प्रत्येक आयत र हजारौं हदिषहरुमा पुर्ण ज्ञान हासिल गरेका र आँखा बन्द गरेर बयान गर्न सक्नेलाइ महत्त्व दिएनौं, तर जो आज क्यामेराको अगाडि कुर्आनको आयत हेरेर पनि अड्किअड्की भन्छ , आज त्यसको महत्त्व भयो। वाह! हाम्रो समाज। हामिलाइ थाहा भएको कुरा हो जो आफ्नो पेशा र आफ्नो क्षेत्रमा लागेका हुन्छन् , त्यसैमा विज्ञ हुन्छन्। जस्तै: कुनै डाक्टर अप्रेसन गर्नमा विज्ञ हुन्छ तर उसले कुनै घरको नक्सा कोर्न सक्दैन। कुनै इन्जिनियर नक्सा कोर्नमा विज्ञ हुन्छ तर अप्रेसन गर्न सक्दैन। त्यसकारण यदि हामिलाइ सहि इल्म हासिल गर्नु छ भने आलिम सँग नै सम्पर्क गर्नुपर्ने हुन्छ। 

आलिमको गल्ती

कतिपय मान्छेहरू यस्ता हुन्छन् , यदि कहिल्यै आलिमबाट कुनै गल्ती र गुनाह देखे भने जिन्दगीभर उनिहरुलाई घृणाको रुपले हेर्न थाल्छन् र उनिहरुकहाँ जान उचित ठान्दैनन् , कोही त आलिमहरुको दुश्मन नै भैदिन्छन्। आलिम पनि एउटा मान्छे नै हो। आलिम कुनै फरिश्ता या नबि हैनन् , उनिहरुबाट नि गल्ती हुन्छ। मान्छे राम्रो र नराम्रो छुट्याउने सुत्रलाई बयान गर्दै हज्रत सईद बिन मुसई्इब रदियल्लाहु अन्हु भन्नुहुन्छ“ चाहे कोही आलिम होस , चाहे कोही बुद्धिजीवी, चाहे कोही राम्रा ब्यक्ति यस्ता छैनन् जसमा कुनै खोट नहोस् , तर जसको नराम्रोपन को तुलनामा राम्रोपन धेरै छ भने त्यो राम्रो ब्यक्ति हो र राम्रोपनको तुलनामा नराम्रोपन धेरै छ भने त्यो नराम्रो ब्यक्ति हो।

´´यदि कोहि आलिमबाट कुनै गल्ती देखे त्यसलाई ढाक्ने कोसिस गरौँ। हो यो कुरा पनि ठिक हो कि कोहि आलिम गलत हुन्छन्। यदि उसले खुल्लमखुल्ला गुनाह गर्छ , दिनको पर्वाह गर्दैन र उसको संगतले गलत मार्गतिर लैजान्छ  भने यस्ता आलिमबाट बच्न शरियतमा आदेश दिएको छ। कोहि कोहि आलिम गलत हुदैमा सबै गलत हुन्छन भन्ने पनि हुदैन। साथै यी कुराहरुलाई पनि याद राखौँ। 

 हज्रत इक्रामा रदियल्लाहु अन्हु हज्रत अब्दुल्लाह इब्ने अब्बास सँग रिवायत गर्नुहुन्छ , भन्नुहुन्छ “ जसले कुनै आलिमलाई पिडा दिन्छ, उसले रसुले खुदा सल्लल्लाहु अलैही वसल्लमलाइ पीडा दियो र जसले रसुलुल्लाह सल्लल्लाहु अलैही वसल्लमलाई पीडा दियो उसले अल्लाहलाइ पीडा दियो।´´जसले अल्लाहलाइ पीडा दिन्छ त्यसको के हालत होला?

 कुनै कुनै अबस्थामा आलिमको बेइज्जती हामिलाइ कुफ्रको खाल्डोसम्म धकेल्न सक्छ। अल्लाह हामी सबैलाई आलिमको इज्जत , सम्मान हृदयदेखि नै गर्ने तौफिक प्रदान गरुन्। आमिन

मौलाना खालिद सैफुल्लाह निजामी अज्हरी र मौलाना सादिस रजा बरकातीकाे सहयाेग र सुझावमा लेख तयार पारिएकाे हाे । – लेखक

लेखक अब्दुल अजिज कादरी  गोरखा नगरपालिका २ गाइखुर निवासी हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार