• शुक्रबार, साउन ८ २०८३

नेपालमा जरुरी भैसक्यो ‘डिजिटल हेल्थ’


मंगलबार, माघ १७ २०७९
2.4K
Shares

काठमाडौँ । प्रविधिको विश्वव्यापी बढ्दो प्रयोगसँगै नेपालमा पनि प्रविधिको उपयोगमा अभ्यास शुरु भएपछि प्रभावकारीता कमजोर छ ।

नेपाल सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’को अबधारणा अघि सारेर कार्यान्वयनमा पनि ल्याएको छ । केही काम भएका देखिए पनि ‘डिजिटल हेल्थ’को अवधारणलाई महत्व दिएको पाइँदैन ।

सरकारलाई घच्घच्याउनका लागि अनुसन्धानमा सक्रिय संस्था सोच नेपाल र सिभिलखबर डटकमको आयोजनामा ‘नेपालमा डिजिटल हेल्थ प्रणाली कार्यान्वयनको सम्भावना र चुनौती’का विषयमा अन्तरक्रिया भयाे ।

उक्त अन्तरक्रियामा सहभागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा प्रदीप ज्ञवाली नेपालका तथ्याङ्क व्यवस्थापनमा एकीकृत प्रणालीको विकास हुन जरुरी रहेको औँल्याउछन् ।

“जति पनि ज्ञान, सीप, प्रविधि तथा तथ्याङ्क छन्, राज्यले खोजेर एकीकृत गर्न सक्नुपर्छ”, डा ज्ञवालीले भने, “साथमा डाटाको श्रोत, सुरक्षा र विश्वसनीयतामा ध्यान दिनु पनि जरुरी भइसकेको छ ।” उनले कोभिडका बेला ठुलो समस्या परेका अनुभव सुनाउँदै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

उनले कुनै पनि चिकित्सकसँग विरामीको अभिलेख नरहेको, रोगको उपचारको खास प्रोटोकल नभएको उल्लेख गर्दै इलेक्ट्रिोनिक रेकर्ड जरुरी भएको बताए ।

विकसित मुलुकमा उपचारमा जाने मानिसको सबै विवरण डिडिटलाइज गरिएको हुन्छ । ऊ जुनसुकै अस्पतालमा उपचार गर्न गए पनि विगतमा यस्तो–यस्तो रोग लागेको रहेछ । फलानो–फलानो ठाउँमा उपचार गरेर त्ततत् औषधि लिनुभएको रहेछ भनेर अर्का चिकित्सकले थाहा पाउने व्यवस्था गरिएको हुन्छ ।

चिकित्सकको सिफारिस पनि कागजमा हुँदैन त्यही डिडिटल प्रविधिको माध्यामबाट पुग्छ र फार्मेसीले सोही आधारमा औषधिहरु उपलब्ध गराउँछन् । जसबाट विरामी जुन चिकित्सकमा जानुपर्ने हो, त्यहाँ पुग्छन् र जुन औषधि लिनुपर्ने हो त्यो पनि सजिलै प्राप्त गर्न सक्छन् ।

समारोहमा सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौला बेलायत, अष्ट्रेलियमा आफूले गरेको अनुभव सुनाएँदै भन्छन्, ‘प्रणालीबाट एक क्लीकमा स्वास्थयका सबै जानकारीहरु प्राप्त हुनसक्छ, अब त्यो अभ्यास नेपालमा किन नगर्ने, नेपालमा धेरै क्षेत्रले तथ्याङ्क लिने गरेको छ तर त्यो एकीकृत छैन, राज्यका हरेक निकायमा एउटै तथ्याङ्क पटकपटक दर्ता हुन्छ, स्वास्थ्य क्षेत्रमा त्यो नहुनका लागि डिजिटल हेल्थको अवधारणा प्रभावकारी कार्यान्वयन हुन जरुरी छ ।’

नेपालका केही संस्थाहरुमा त्यो अभ्यास पनि भएको थियो । तर प्रभावकारी हुन नसकेको स्वास्थ्य विज्ञहरु बताउँछन् । अब प्रविधिमार्फत नै मेडिकल अभिलेखहरु भयो भने यस क्षेत्रमा देखिएका विविध चुनौतीहरु पनि न्युनिकरण भएर जाने चिकित्सकहरु बताउँछन् ।

चिकित्सकले लेखेको अक्षर आधा बुझेर फार्मेसीले औषधि दिने गरेको उल्लेख गर्दै उक्त अन्तरक्रियामा सहभागि सांसद रामहरी खतिवडा भन्छन्, “डिडिटल हेल्थ लागू भयो भने त धेरै सहज हुनेछ, यसबाट जसले जे सेवा पाउनुपर्ने हो, त्यो प्राप्त गर्नसक्छ ।” उनले मुलुकलाई प्रविधिमा नलगी सुखै नभएको र आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने पनि प्रतिबद्धता जनाए ।

लामो समय चिकित्सा सेवा दिनुभएका हालका सांसद डा चन्दा कार्की डिडिटल हेल्थको विषयमा राज्य गम्भिर भएर तदारुकताका साथ नीति नियमहरु बनाउनुपर्ने आवश्यकता औँल्याउछिन् । विगतमा शिक्षण अस्पतालमा हेल्थ नेट भनेर शुरु गरिए पनि प्रभावकारी हुन नसकेको उनले सुनाइन् । उनि सरकारी संस्थामा यसका विषयमा काम गर्ने मान्छेको अभाव रहेको बताउछिन् ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका सुचना प्रविधि हेर्ने शाखाका राजेन्द्रप्रसाद पौडेल विवरण सङ्कलनको एक खालको प्रक्रियाहरु त भइरहेको तर डाटा प्रवेश विन्दुमै समस्या रहेको बताउछन् । “एक जना चिकित्सकले १०० सम्म विरामी हेर्नुपर्छ, उसले कसरी विवरण भर्न सक्छ, आवश्यक जनशक्ति व्यवस्थापन जरुरी छ”, उनले भने ।

सोच नेपालका अध्यक्ष डा दामोदर पुडासैनी स्वास्थ्य मन्त्रालयले चासोका साथ डिडिटल हेल्थलाई प्राथमिकता दिनुपर्ने जरुरी रहेको बताउछन् ।

“विश्वव्यापी विकास भएको प्रणालीलाई नेपालले पनि स्वीकार गर्नुपर्छ”, उनले भने, नेपालमा इ–हेल्थमा धेरै खर्च भइसकेको छ, यसलाई प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ ।”

यो लागू भयो भने स्वास्थ्य क्षेत्रका भ्रष्टाचार रोकिने उनको विश्वास छ । यसले स्वास्थ्य क्षेत्रमा इतिहाससमेत कायम गर्ने उनले बताए ।

छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव एकदेव खनालले केही नीति नियम रहेको र केही बनाउनुपर्ने अबस्था रहेकोबताउँदै केही काम पनि भएको तर बजेटको अभाव रहेको बताए । उनले खण्डिकृत कामलाई एकीकृत गर्न जरुरी रहेको पनि बताए ।

कार्यक्रममा विभिन्न संस्थाबाट सहभागी सुदर्शन शर्मा, सृष्टी शाह, निर्मल ढकाल, अनुराधा शर्माले डिजिटल हेल्थका विषयमा आफ्ना अनुभव र धारणाहरु राखेका थिए । कार्यक्रमको सञ्चालन सिभिल खबरका मोहसिन अलि मियाँले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार