बूढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।
बिहीबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका कामलाई अगाडि बढाउन मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका हुन् । बालुवाटारमा भएको छलफलमा गोरखा र धादिङबाट निर्वाचित सांसदहरू उपस्थित थिए ।
गत मंसिरमा भएको चुनावमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड पनि गोरखा क्षेत्र नम्बर २ बाटै प्रतिनिधि सभा सांसद निर्वाचित भएका थिए । गोरखा १ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाई र धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित कांग्रेस सांसद रामनाथ अधिकारीलगायत उपस्थित छलफलमा प्रधानमन्त्रीले बूढीगण्डकी आयोजना अघि बढाउन आवश्यक काम गर्न मुख्य सचिवलाई निर्देशन दिएका हुन् ।
नेपालीहरूकै लगानीमा आयोजना बनाउने तयारी छ। आयोजना क्षेत्रमा पर्ने गोरखा र धादिङ तर्फका स्थानीयको घरजग्गाको मुआब्जा दिने काम भइरहेका छन् ।
तर कतिपय ठाउँमा मुआब्जा वितरणलगायत काम हुन सकेको छैन ।
बूढीगण्डकी सरोकारवालाहरूका समस्या बुझ्न गोरखाको आरूघाटमा अन्तर्क्रिरया समेत गर्ने तयारी रहेको सांसद बजगाईले जानकारी दिए । ‘बूढीगण्डकी आयोजना निर्माणमा ढिलाइ भइरहेको छ । मुआब्जालगायत वितरण गर्ने काम पनि केही ठाउँमा बाँकी नै छ,’ उनले भने, ‘आयोजनाका काम अघि बढाउन प्रधानमन्त्रीज्यूले चासो दिनुभएको छ। अब आयोजनाका काम अघि बढ्छ, हामी जनताका कुरा सुन्न आरूघाटमा सरोकारवालाहरूसँग अन्तर्क्रिरयासमेत राख्दैछौं ।’
चुनावका बेला गोरखा र धादिङ क्षेत्रमा बूढीगण्डकी आयोजनालाई तत्कालै अघि बढाउन पहल गर्नेजस्ता विषय उठान भएका थिए। सोही प्रतिबद्धताअनुसार आयोजनाका कामलाई अगाडि बढाउन पहल थालिएको सांसद बजगाई बताउँछन् । आयोजनाका साथै लार्के(ठोरी सडक निर्माण र गोरखाका विकासका लागि पनि सरकारले आवश्यक सहयोग गर्नुपर्ने सांसद बजगाईले बताएका छन् ।