काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नाे पार्टीले विश्वासकाे मत दिने निर्णय अस्वभाविक नभएकाे नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
पार्टीकाे विधार्थी संगठन अनेरास्ववियूले केन्द्रिय कार्यालयमा आयाेजना गरेकाे साँसद सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई विश्वासकाे मत दिदैमा प्रतिपक्ष हुन नपाइने भन्ने संविधानमा उल्लेख नभएकाे तर्क गरेका हुन् ।
देश र जनताकाे पक्षमा काम गर्न आफुले दिएकाे १५ बुदे लिखित ‘कण्डिशनल’ बुदाहरुमा प्रधानमन्त्री सहमत हुनुभएकाले संसदमा विश्वासकाे मत दिन नेकपा एस राजी भएकाे समेत उनले खुलासा गरे ।
‘हामीले सुशासन, विकास निर्माण र जनताकाे आवस्यकता पूरा गराउने अभियानलाई अघि बढाउनका लागि प्रचण्डजीलाई १५ बुदे प्रस्तावहरु राखेका थियाै’ उनले भने ‘त्यसमा प्रचण्डजी सहमत हुनुभएपछि हामी विश्वासकाे मत दियाै, यसमा अस्वभाविक मान्नुपर्ने विषय केहि छैन ।’
प्रधानमन्त्रीलाई विश्वासकाे मत दिएपनि आफ्नाे पार्टी प्रतिपक्षमै रहने समेत उनले स्पष्ट पारेका छन् । नेकपा एसले मंसिर ४ मा थ्रेस हाेल्ड कटाउन नसकेकाे बिषयलाई लिएर विपक्षी दलले जनतामा अफवाह फैलाएकाे प्रति असन्तुष्टी जनाउदै अध्यक्ष नेपालले त्यसकाे पछि नलाग्न आह्वान गरे ।
‘राष्ट्रिय पार्टी भएन अब नेकपा एसका सबै साँसद स्वतन्त्र हुन, साँसदहरु अरु पार्टीमा प्रवेश गर्छन, संसदमा ह्विप लाग्दैन भन्ने तर्क बाहिर आएकाे छ’ नेकपा एमालेप्रति संकेत गर्दै उनले भने ‘विराेधी दलका साथीहरुले गलत प्रचार गरिरहनु भएकाे छ, पार्टी बन्न निर्वाचन आयाेगमा दर्ता हुनुपर्ने हाे, थ्रेस हाेल्ड कटाउनुपर्ने हाेइन, संसदमा ह्विप पनि लाग्छ ।’
कार्यक्रम मार्फत उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई केपी ओलीमा अहंकार बाँकी रहेकाले सबै बिषयमा पूर्ण विश्वास नगर्न सुझाव समेत दिए । आफु र आफ्नाे पार्टी प्रचण्ड नेतृत्वकाे सरकारले राम्राे गराेस भन्ने पक्षमा रहेकाले मात्रै सहयाेग गरेकाे स्पष्ट समेत पारे ।
अनेरास्ववियूका केन्द्रिय अध्यक्ष सुदेश पराजुलीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा एसका तर्फबाट प्रतिनिधी सभा र प्रदेश सभामा निर्वाचित साँसदहरुलाई सम्मान समेत गरिएकाे थियाे ।