गोरखा । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाभ सदस्य चुनिएर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड गोरखा आएका छन् ।
प्रधानमन्त्री नियुक्त भएर हिजाे मंगलबार मात्रै विश्वासकाे मत पाएका प्रचण्ड एघाराै गोरखा महाेत्सव उद्घाटन गर्न नेपाली सेनाकाे हेलिकाेप्टर मार्फत गोरखा आएका हुन ।
गोरखा उधाेग बाणिज्य संघद्धारा आयाेजित महाेत्सव उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै प्रधानमन्त्री दाहालले गोरखाली जनतासंग निर्वाचन प्रचारका क्रममा गरिएका वाचा र प्रतिवद्धता आफुले नभुलेकाे बताएका छन् ।

गोरखाली जनताकै कारण आज आफु प्रधानमन्त्रीकाे पदमा नियुक्त भएकाे बताउदै उनले चुनावमा हरेक नागरिकसंग गरिएकाे वाचालाई पूरा गर्न प्रतिवद्ध रहेकाे दाेहाेर्याए ।
उद्घाटन कार्यक्रमलाई सम्बाेधनका क्रममा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न नीजि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन्। साथै उनले अर्थतन्त्रलाई गति दिन सार्वजनिक–नीजि क्षेत्रको सहकार्य अनिवार्य रहेकोमा जोड समेत दिए।
प्रधानमन्त्री भएपछि क्याबिनेटको पहिलो बैठकबाट नै अर्थतन्त्रमा सुधारका निम्ति लिनुपर्ने नीति र उपायका बारेमा गम्भीर छलफल भएको बताउदै दाहालले अर्थतन्त्रको विकासका लागि नीजि क्षेत्रको प्रगति र योगदान आवश्यक भएको बताए ।
आर्थिक विकासका चुनौती हल गर्दै सामाजिक न्यायको प्रत्याभूति, सुशासन र समृद्धि हासिल गर्न सम्मानित संसदमा समेत प्रतिबद्धता व्यक्त गरेको उनले स्मरण गरे।

कृषिको आधुनिकीकरण, भौतिक पूर्वाधारको विकास, पर्यटन, कला संस्कृतिको संरक्षण, साना घरेलु उद्योगको प्रवद्र्धन र ठूला उद्योग निर्माण र बुढीगण्डकी जलविद्युत आयोजना, बेनीघाट–आरुघाट–लार्के सडक, पालुङटार विमानस्थललगायतका ठूला आयोजना अघि बढाउँदै रोजगारी सिर्जनामार्फत गोरखा जिल्लालाई सिंगो देशको समृद्धिका लागि नमुना जिल्ला बनाउने प्रतिबद्धता पूरा गर्न आफू लागिपर्ने उनकाे भनाइ थियो।
सिंगो संसदले आफुलाई विश्वासकाे मत प्रदान भएकाले आफु नेतृत्वकाे सरकार राष्ट्रिय सहमतीकाे सरकारमा परिणत भएकाे समेत उनले बताए ।
गोरखाले प्रधानमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री पाउनु गोरखाकै लागि गौरवको बिषय रहेको जानकारी दिए । ‘अब छिट्टै प्रदेश सरकार पनि गठन हुँदैछ, प्रदेशमा पनि गोरखाबाट मन्त्री हुने सम्भावना छ, केन्द्रमा प्रधानमन्त्री पनि गोरखाबाट, भौतिक पूर्वाधार मन्त्री पनि गोरखाबाट अनि प्रदेशमा पनि मन्त्री हुनु यो एउटा दुर्लभ पाइने अवसर हो’ उनले भने ।

कार्यक्रममा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले निर्वाचनकाबेला गरेको योजना अनुसार काम गर्ने बताए । त्यस्तै गोरखा १ बाट निर्वाचित सांसद राजेन्द्र बजगाईले बिज्ञ समुहको सल्लाह, सुझाबमा गोरखाको बिकासलाई अघि बढाउन प्रधानमन्त्रीको ठुलो सहयोग आवश्यक रहेको बताए ।
गण्डकी प्रदेश सभा सदस्य समेत रहेका नेपाली कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले जिल्लाको बिकासका निम्ती सबैले दलिय स्वार्थ त्यागेर एक जुट हुनुपर्ने समय आएकाे तर्क गरे ।
गोरखा सदरमुकाम स्थित खेलकुद मैदानमा आयाेजना भएकाे मेला आजबाट सुरु भई माघ ७ गतेसम्म चल्ने गोरखा उधाेग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

तस्विर: प्रधानमन्त्रीकाे सचिवालय