गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ सहित ८ जनालाई नेपाली कांग्रेस जिल्ला अनुशासन समिति गोरखाले कारबाही को सिफारिस गरेको छ।
२०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन र मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उनीहरुलाई पार्टीको उम्मेदवार विरुद्ध लागेको आरोप छ।

कारबाही सिफारिस भएकामा महासमिति सदस्य ईश्वर पाण्डे, महासमिति सदस्य प्रेमकुमार खत्री, महाधिवेशन प्रतिनिधि चेतबहादुर अधिकारी रहेका छन्। नेपाल तरुण दलका जिल्ला कार्यसमिति सचिव चित्र भट्ट, नेपाली कांग्रेस गाउँपालिका पार्टी सदस्य विदेश नराल, क्षेत्रीय प्रतिनिधि भिमप्रसाद अर्याल, गण्डकी प्रदेश समिति सदस्य श्यामप्रसाद लामिछानेलाई कारबाहीको सिफारिस गरिएको छ।
कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध अभिव्यक्ति दिएको अडियो सार्वजनिक भएको थियो। पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन सक्रिय भएको भन्दै उनलाई कारबाहीको सिफारिस गरिएको बताइएको छ।
गाउँ गाउँमा आधिकारिक उम्मेदवारलाई भोट नहाल्न भनेको, सामाजिक सञ्जालमा तथानाम लेखेको लगायत उजुरीपछि कारबाहीकालागि सिफारिस गरिएको अनुशासन समितिले जनाएको छ।
कारबाहीकालागि सिफारिस भएकाहरूले नेपाली कांग्रेसको विधान विपरीत काम गरेको भन्दै जिल्ला अनुशासन समितिले कारबाहीका लागि पठाएको हो।


