काठमाण्डाै । सरकार परिवर्तन भएसंगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नाे १८३ दिनकाे कार्यकालकाे प्रगती सुनाएर मन्त्रालयबाट विदा भएका छन् । साेमबार शिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री कुवँरले समग्रमा आफ्नाे कार्यकाल उपलब्धीमुलक भएकाे दावी गर्दै बिदा भएका हुन् ।
गत असार १३ गते श्रम मन्त्री नियुक्त भएका कुवँरले ५३ बुदामा कार्यप्रगतीलाई ब्याख्या गरेका छन् । जसमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना अनौपचारिक तथा स्वरोजगार क्षेत्र र बैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन आवश्यक कार्यविधि स्वीकृत गर्नुलाई प्रमुख उपलब्धीमा राखेका छन् । यसअघि औपचारिक क्षेत्रमा रहेका श्रमिकका लागि मात्र साे ब्यवस्था लागु थियाे ।
त्यस्तै मन्त्री कुवँरले आन्तरिक रोजगारी सिर्जना गरेकोदेखि निःशुल्क भिसा र टिकटमा श्रमिकलाई विदेश पठाएकोसम्मका विषयलाई प्रगती विवरणमा बुदागत गरेर्का छन् ।

यसैगरी श्रमिक अस्पतालको निर्माणका लागि स्थलकाे पहिचान र विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्य भइरहेको उनले बताएका छन् ।
नेपालको श्रम प्रशासनलाई चुस्त दुरूस्त र प्रभावकारी बनाउन थप कार्ययोजना बनाई अघि बढाइएको र संघीय संरचना अनुरुप श्रम प्रशासनको प्रभावकारी कार्यान्वयन गर्ने गरी सबै श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्यको थालनी भएकाे समेत उनले बताए ।
पूर्ण रुपमा देशभित्रै आन्तरिक रोजगारको सुनिश्चित नहुँदासम्म मुलुकबाट बाध्यात्मक रुपमा वैदेशिक रोजगारमा जाने प्रक्रिया रोक्न नसकिने भएकाले नेपाली श्रम बजारलाई व्यवस्थित र मर्यादित रूपमा अघि बढाउदै कामदारको सुरक्षा, हक हित र अधिकारलाई ध्यानमा राखी बैदेशिक रोजगारीलाई व्यवस्थित गर्न आफूले प्रयत्न गरेकाे मन्त्री कुवँरकाे दावी छ ।

कार्यक्रम मार्फत नै उनले आफुले मन्त्रीकाे हैसियतमा पाएकाे गाडी र सरकारी आवास फिर्ता गरिसकेकाे जानकारी गराए । कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले मन्त्री कुवँरकाे कार्यशैली र ब्यवहारले प्रभावित बनाएकाे भन्दै प्रशंसा गरे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहालकाे नेतृत्व बनेकाे नयाँ सरकारमा श्रममन्त्री काे हुने हालसम्म टुंगाे भने लागेकाे छैन ।