संघीय संसदका ५४ जना सांसद कोरोना परीक्षणका लागि स्वाब संकलनमा छुटेका छन् ।
संसद सचिवालयले नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बिहीबार र शुक्रबार स्वाब संकलनको व्यवस्था मिलाएको थियो । जसमा २७५ सांसद सहभागी भए भने ५४ जना छुटे ।
संघीय संसदको प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य हुन्छन् । जसमध्ये प्रतिनिधिसभाका ४ सांसद विजयकुमार गच्छदार, रेशम चौधरी, मोहम्मद अस्ताब आलम र हरिनारायण रौनियार निलम्बित छन् ।
राष्ट्रियसभाका ५९ मध्ये राष्ट्रपतिले नियुक्त गर्ने एक पदक खाली छ ।
छुटेका सांसदहरु हाल काठमाडौं उपत्यकामा नरहेका र उनीहरुले अब आफैं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गई कोरोना परीक्षण गर्नुपर्नेछ ।
प्रतिनिधिसभा तर्फ बिहीबार १७९ र शुक्रबार ५३ गरी २३२ जनाको स्वाब संकलन भएको छ । राष्ट्रियसभा तर्फ बिहीबार ३३ र शुक्रबार १० गरी ४३ जनाको स्वाब संकलन गरिएको छ ।