सुदिप श्रेष्ठ
गोरखा। गोरखामा घरेलु हिंसाका घटना बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको तथ्यांक अनुसार तिन वर्षको अवधिमा प्रत्येक वर्ष घरेलु हिंसा वृद्धि हुँदै गएको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखामा चालु आर्थिक वर्षको पाच महिनामा हिंसाका ५३ वटा उजुरी दर्ता भएका छन् । ति मध्य २७ वटा उजुरी मिलापत्र गरेका छन् भने १५ वटा उजुरी अन्य निकायमा पठाएको र ११ वटा उजुरीको फछौट हुन बाँकी रहेको प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिए ।



गत आर्थिक वर्ष २०७८/०७९ मा एक सय ४५ वटा उजुरी दर्ता भएकोमा ७६ वटा उजुरीको मिलापत्र गरिएको उनले बताए । ५५ वटाउजुरी अन्य निकायमा पठाएको र बाकि उजुरीे कर्ता सम्पर्कमा नआउको प्रहरीले जनाएको छ । त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ एक सय २८ वटा उजुरी दर्ता भएका छन् ।
ति मध्य ४२ उजुरी मिलापत्र, ४६ वटा उजुरी अन्य निकायमा पठाएको कार्यालयले जनाएको छ । त्यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा १ सय २६ वटा उजुरी दर्ता भएका छन् । ति मध्य ८१ मिलापत्र, ४५ वटा उजुरी अन्य निकायमा पठाएको कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा जिल्लामा घरेलु हिंसा सम्बन्धी उजुरी दर्ताको क्रम बढ्दै गएको हो ।
परम्परागत रुढीवादी सोच एवं कुसस्कारका कारण घरेलु हिंसा बढ्ने गरेको कार्यालयले जनाएको छ । लैङगिक हिंसाका घटनाहरुको रिपोर्ट नआउनु, महिला हिंसा महिलाले नै आफ्नो नियतिको रुपमा स्विकार गर्नु, महिलालाई स्रोत, साधन, सम्पति तथा अवसर पहुँच नहुनाले हिंसा जन्य घटना बढ्ने गरेको ढकालले बताए ।
पारिवारिक, सामाजिक तथा आर्थिक लगायतका कारणहरुबाट हिंसामा परी सम्बन्धित निकायमा गएका महिलाहरुले मेलमिलापलाई नै अन्तिम विकल्पको रुपमा स्वीकार्न बाध्य पारिदा महिलाहरुले घरेलु हिंसा सहनु परेको उनले बताए । त्यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा जवरजस्ती करणी २१, बहुविवाह २, बाल यौन दुरुपयोग सम्बन्धी २ वटा मुद्धा परेको प्रहरी निरीक्षक ढकालले जानकारी दिए ।
उनका अनुसार गत वर्ष २०७७/७८ मा बहुविवाह सम्बन्धी ९, जबरजस्ती करणीमा २ र बाल यौन दुरुपयोग सम्बन्धी शिर्षकमा २ जना विरुद्ध मुद्धा परेको छ । त्यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा बहुविवाह शिर्षकमा १३, जबरजस्ती करणी शिर्षकमा १३, जबरजस्ती करणी उद्योग शिर्षकमा ५ र बाल यौन दुरुपयोग शिर्षकमा ३ वटा मुद्धा परेको उनले बताए । विगत तीन वर्षमा बोक्सी आरोप सम्बन्धी कुनै मुद्धा नपरेको जनाएको छ ।


