काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थतन्त्रको विकासका लागि कोभिड–१९ बाट सिर्जित समस्यालाई अवसरको रुपमा लिनुपर्ने बताएका छन्। कोभिड—१९ बाट आएको यो संकटलाई पूर्ननिर्माण र नव निर्माणको अवसरका रुपमा परिणत गरी अर्थतन्त्रलाई नयाँ मोडमा लैजानुपर्ने भट्टराईले बताए।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बिहीबारको बैठकमा पूर्व प्रधानमन्त्री भट्टराईले निजी क्षेत्र र सरकारको सामूहिक सहकार्यबाट नै समस्याको समाधान सम्भव रहेको बताए।
एक अर्कालाई माग तेस्र्याउनुभन्दा पनि सबैले देशको स्रोत साधनको उपलब्धताको अवस्था र निरपेक्ष विकासको अवस्था हेरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ। कोरोनापछि विश्वको अर्थतन्त्र जसरी पूर्नसंरचना हुन्छ त्यही ढंगले राष्ट्रिय रणनीति बनाएर निजी क्षेत्र र राज्यले सहकार्य गर्न सकेमात्रै लाभ लिन सकिने उनले बताए।