गण्डकी प्रदेशसभा सदस्यका लागि दलहरुले समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा पठाएका छन् । आयोगले मंसिर २६ गते सिफारिस नाम निर्वाचित घोषणा गर्नेछ । त्यससँगै गण्डकीमा महिला सांसद २१ हुनेछन् । जुन अघिल्लो निर्वाचनभन्दा एउटा सांसद बढी हो । ०७४ सालको निर्वाचनपछि प्रदेश सभामा महिला सांसद २० जना थिए ।
प्रत्यक्षतर्फ २ जना महिला निर्वाचित भएको एमालेबाट समानुपातिकबाट ६ जना महिना छनोट भए । समानुपातिक कोटाबाट एमालेले पाएको १० सिटमध्ये ६ महिला सांसद छानिएका हुन् । नवलपुर क्षेत्र नम्बर २ (१¬) बाट पद्या जिसी र स्याङ्जा क्षेत्र नम्बर १ (१) बाट सीता सुन्दास निर्वाचित भए । समानुपातिकतर्फ एमालेले दलिततर्फ १, जनजातितर्फ ४ र खस आर्यतर्फ १ महिलाको नाम समानुपातिकमार्फत पठाएको छ ।
नेपाली कांग्रेसले ९ जना महिलाको नाम आयोगमा पठाएको छ । प्रदेश सभामा प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकमा पाएको ९ सिटमै महिला पठाएको हो । प्रत्यक्षमा निर्वाचित महिलाको संख्या शून्य हुँदा समानुपातिकतर्फ सबै सिटमा महिलाको नाम पठाउनुपरेको हो । कांग्रेसले समानुपातिकतर्फ दलित समुदायबाट २, जनजातिबाट ४ र खस आर्यबाट ३ जना महिलाको नाम आयोगमा पठाएको छ ।
प्रत्यक्षतर्फ ५ सिट जितेको माओवादी केन्द्रले समानुपातिकतर्फ ३ सिट पाएको छ । सवैधानिक व्यवस्थाअनुसार माओवादीले पनि पाएका सबै सिटमा महिला छान्नु प¥यो । प्रत्यक्षमा एक सिट पनि नजितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपाले समानुपातिकमा २ सिट पाएको थियो । जसमा एकजना महिला पठाएको छ ।
प्रदेश व्यवस्थापिका अन्र्तगत संविधानको धारा १७६ को उपधारा ९ अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्छ ।
प्रत्यक्षतर्फ उम्मेदवार नै कम भएकाले निर्वाचित हुने महिलाको संख्यासमेत कम हुने गरेको छ । प्रत्यक्षतर्फको निर्वाचनमा कमभन्दा कम महिला उम्मेदवार उठाएका कारण दलहरूले महिलाको प्रतिनिधित्व गराउन समानुपातिक तर्फको सूचीलाई प्रयोग गर्ने गरेका छन् । संसदमा ३३ प्रतिशत महिला अनिवार्य पुर्याउनुपर्ने कानुनी व्यवस्था छ ।
गण्डकी प्रदेशबाट समानुपातिक महिला सांसद
नेकपा एमाले
१. नन्दकला दमाई
२. देवका पहारी त्रिपाठी
३. विनाकुमारी थापा
४. निर्मला थापा
५. यसोदा रिमाल
६. रामकुमारी भुजेल
नेपाली कांग्रेस
१. दिलमाया पौबी
२. टीकाकुमारी बस्याल
३. विमला गौचन
४. रेखा गुरुङ
५. सरस्वती गुरुङ
६. पार्वती तामाङ
७. सरस्वती अर्याल तिवारी
८. चम्पादेवी खड्का
९. कल्पना तिवारी
माओवादी केन्द्र
१.दमयन्ती रुचाल
२. कुसुम बुढा मगर
३.सुशीला सिम्खडा
राप्रपा
२.बिन्दु पहाडी
प्रत्यक्षतर्फ
सीता सुन्दास
पद्मा जिसी