नेकपा माओवादी केन्द्रले सरकार गठनका सन्दर्भमा सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।
शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले सरकार गठनका लागि सबै दलसँग छलफलको ढोका खुला राख्ने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले बताए।
‘गठबन्धन छाड्ने निर्णय गरिएको छैन, तर अन्य विकल्प खुला राख्ने निर्णय भएको छ।’ महराले भने, ‘आज प्रारम्भिक समीक्षा भयो, संघमा अपेक्षा गरेजसरी सिट हासिल गर्न सकिएन भन्ने छ, अब सबै परिणाम आएपछि विस्तृतमा समीक्षा हुन्छ।’
उनले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिए । बैठकमा अपेक्षा गरे अनुरुप प्रतिनिधि सभामा सीट आउन नसकेको समिक्षा भएको महराले बताए ।
बैठकपछि महासचिव देव गुरुङले अहिले गठबन्धनमै रहेकाले गठबन्धनकै सरकार गठनको पहल हुने भन्दै वार्ता र संवाद एमालेसँग पनि हुनसक्ने बताए ।
बैठकमा चुनावको प्रारम्भिक समिक्षामात्र भएकाले सरकार गठनको प्रक्रिया तथा एजेण्डाबारे छलफल नै नभएको उनले बताए ।