गोरखा । प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सहित गोरखाका ३४ जनाको धरौटी जफत भएको छ ।
सदर मतको १० प्रतिशत मत नल्याउने प्रतिनिधि सभाका १७ र प्रदेश सभाका १७ उम्मेद्वारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
गोरखा १ मा गठबन्धन दल र नेकपा एमालेका उम्मेदवारबाहेक सबैको धरौटी जफत भएको छ ।
गोरखा २ मा गठबन्धन, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक सबै उम्मेदवारको धरौटी जफत भएको छ ।
गोरखा १ मा राप्रपाका उदय भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाय, जसपाका रुपेश राना, मंगोल नेशनल अर्गनाइजेशनका देवबहादुर थापाको धरौटी जफत भएको छ ।
त्यस्तै सुशासन पार्टीका मीनबहादुर श्रेष्ठ, जन समाजवादी पार्टीका उत्तरबहादुर खड्का, नेमकिपाका लीलाकुमारी बुढाथोकी र स्वतन्त्र उम्मेदवार विष्णु पुडासैनीको धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै क्षेत्र नं। २ मा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक अन्य उम्मेदवारको धरौटी रकम जफत भएको छ। राप्रपाका सुशील पन्त, राप्रपा नेपालका कुलबहादुर बस्नेत, नेपाली कांग्रेस९बीपी०का टीकादत्त पोखरेल, नेकपा मालेका नारायणबाबु आचार्यको धरौटी जफत भयो ।
नेमकिपाका प्रल्हाद लामिछाने, मंगोल नेशनल अर्गनाइजेशनका सोमबहादुर गुरुङ, हाम्रो नेपाल पार्टीका प्रकाश थापा र स्वतन्त्र उम्मेदवार गणेश देवकोटा र विनोदकुमार गुरुङको धरौटी जफत भएको कार्यालयले जनाएको छ ।
प्रदेश सभातर्फ पनि निकटत्तम प्रतिस्पर्धीबाहेक सबैको धरौटी जफत भएको छ । गोरखा १ को प्रदेश १ बाट उम्मेदवार बनेका मंगोल नेशनल अर्गनाइजेशनका गंगाबहादुर राना, राप्रपाका सुदीप ढकाल, राप्रपा नेपालका हरिराम अर्याल, पिपल्स पार्टीका विष्णुबहादुर कुँवर र स्वतन्त्र उम्मेदवार रामशरण आचार्यको धरौटी जफत भएको छ ।
गोरखा १ को २ बाट उम्मेदवार बनेका राप्रपाका सोमनाथ अधिकारी, राप्रपा नेपालकी सरिता देवकोटा, मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर लामा र पिपल्स पार्टीका रामचन्द्र कुमालको धरौटी जफत भएको कार्यालयले जनाएको छ ।
त्यस्तै गोरखा २ को १ का उम्मेद्वार राप्रपाका राजेन्द्र शाह, राप्रपा नेपालका सुवोध बस्नेत, मंगोल नेशनल अर्गनाइजेशनका दिपीका गुरुङ बराम, हाम्रो नेपालका सरोज गिरी र स्वतन्त्र उम्मेद्वार बिलबहादुर तामाङको धरौटी पनि जफत भएको छ ।
गोरखा २ को प्रदेश २ का उम्मेद्वार राप्रपाका ठाकुर लामिछाने, राप्रपा नेपालका सफिदिन मियाँ, मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर घले र स्वतन्त्र उम्मेद्वार हरि पोखरेलको धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधि सभामा प्रत्यक्षतर्फको उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छ । ती उम्मेदवारले सम्बन्धित क्षेत्रमा सदर भएकामध्ये १० प्रतिशतभन्दा कम मत पाएमा धरौटी जफत हुने निर्वाचन कानुनमा व्यवस्था छ ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गोरखा क्षेत्र नं १ मा कुल ६० हजार दुईसय ८२ मत खसेकोमध्ये ५७ हजार दुई ३१ मत सदर भएको थियो । सदर मतको १० प्रतिशत हुनका लागि पाँच हजार सात सय २४ मत कटाउनुपर्ने थियो ।
त्यस्तै, गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ कुल ५४ हजार ४४ मत खसेकोमा ५० हजार नौ सय १८ मत सदर भएका थिए । सदर मतको १० प्रतिशत हुनका लागि ५ हजार ९२ मत ल्याउनुपर्थ्यो। १० प्रतिशत मत प्राप्त नगरेकाहरूले धरौटीको रूपमा राखेको रकम तीन महिना कटेपछि राजस्वको रूपमा जम्मा हुने छ ।