गाेरखा । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गाेरखा जिल्लामा साढे १० हजारभन्दा बढी मत बदर भएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ १० हजार ६४३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय गाेरखाले जानकारी दिएको हो ।
क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ ३ हजार ५१ र प्रदेश सभातर्फ २ हजार २१२ मत बदर भएको छ । समानुपातीक तर्फ भने तीन हजार पाँच सय ८१ मत बदर भएको छ । त्यस्तै क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ ३१२६ र प्रदेश सभातर्फ २२५६ मत बदर भएको र समानुपातीक तर्फ दुई हजार नौ सय २६ मत बदर भएकाे जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोईरालाले बताए ।
जिल्लामा २ लाख २० हजार मतदाता मध्ये १ लाख १३ हजार ६७ जनाले मतदान गरेका थिए । दलहरु गठबन्धन गरेर जानु र गाउँगाउँमा मतदाता शिक्षा नपुग्नुले जिल्लामा धेरै संख्यामा मत बदर भएको अनुमान छ ।
मतदाता शिक्षा निर्वाचन आयोग र कार्यालयले वडा तहसम्म संचालन गरेको निर्वाचन अधिकारी कोईराला जानकारी दिए। मतदाता शिक्षालाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने उनले बताए। एक भन्दा धेरै निर्वाचन चिन्हमा छाप लगाएका कारण बदर भएको संख्या गोरखामा धेरै छ। मतपत्रमा ल्याप्चे लगाउने, स्वस्तिक छाप नलगाई मतपत्र खसाल्ने गर्दा धेरै मतपत्र बदर भएको देखिन्छ।


