गोरखा । गत आइतबार भएकाे प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनलाई अपेक्षाकृत मत आउन नसकेकाे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएपछि आज शुक्रबार गोरखा सदरमुकाममा मतदाता धन्यवाद ज्ञापन सभालाई सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनकाे साेचे अनुसार मत आउन नसकेकाले गम्भिर समिक्षाकाे खाँचाे रहेकाे बताए ।
‘देशका धेरै स्थानमा हाम्राे गठबन्धनकाे जित त भइरहेकाे छ तर केहि ठाउँमा अपेक्षाकृत रिजल्ट आउन नसकेकाे पक्कै हाे’ उनले भने ‘जस्तो परिणाम अपेक्षा गरेका थियौँ देशभरी अलि भएन भन्ने हो, यसमा हामीले गम्भिर समिक्षा गर्नु आवस्यक छ’
नयाँ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु प्रति लक्षित गर्दै अध्यक्ष प्रचण्डले बिभिन्न राजनीतिक आन्दाेलन मार्फत ल्याइएका जनताका अधिकार र उपलब्धीलाई जनतामा बिभिन्न आवेग र भ्रम छरेर पछिल्लाे समय उल्ट्याउने चेष्टा भइरहेकाे आराेप लगाए ।
साथै उनले सिंहदरबारकाे अधिकार प्रदेश सरकार र स्थानीय तह मार्फत गाउँगाउँमा पुगेकाे मन नपर्ने तत्वले संघियतालाई नै चुनाैती दिन थालेकाे समेत बताए ।
चुनाव प्रचारका क्रममा गोरखाका जनतासंग गरिएका प्रतिवद्धता पुरा गराउन आफु प्रतिवद्ध रहेकाे दाेहाेर्याउदै उनले साथ दिन सबैलाई आग्रह समेत गरेका छन् ।
गोरखाकाे विकासका लागि बुढिगण्डकी जलविधुत आयाेजना, गोरखकाली रबर उधाेग, पालुङ्टार विमानस्थल लगायतकाे सञ्चानलनका लागि आफुले पहल गर्ने समेत अध्यक्ष प्रचण्डले प्रतिवद्धता ब्यक्त गरेका छन् ।