काठमाडौं क्षेत्र नम्बर २ बाट सांसद बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले संसदमा जनताको समस्यालाई जोडतोडका साथ उठान गर्ने प्रतिबद्धता जनाएकी छन्।
विजयपछि मतदातालाई धन्यवाद दिँदै गौतमले विकासका पूर्वाधारमा जोड दिने बताइन्।
उनले जित आफ्नो मात्र नभइ परिवर्तन चाहने मतदाताको भएको प्रतिक्रिया दिइन्।
उनले भनिन्,’ यो जित परिवर्तन चाहने मतदाताको जीत हो। संसदमा जनताका समस्यालाई जोडतोडका साथ उठाउँछु।’
गौतमले १५ हजार दुई सय २९ मत प्राप्त गरी विजयी भएकी हुन्। निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरेका थिए।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी) का उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाएकी थिइन्।
काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ ५२ हजार नौ सय ५६ मत खसेकोमा दुई हजार एक सय १६ मत बदर भएको थियो ।