गोरखा । गोरखामा आज भएको प्रतिनिधी सभा र प्रदेश सभा सदस्यका लागि भएको मतदान सकिएको छ ।
२ संघिय र ४ प्रदेश सभा क्षेत्र रहेको गोरखामा शान्तिपूर्ण रुपमा मतदान सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखाले जनाएको छ । ३ सय १७ मतदान केन्द्र र २ सय २२ मतदान स्थलबाट भएको मतदान प्रकृयामा गोरखामा करिब ४६ प्रतिशत मतदाताको मत खसेको कार्यालयको अनुमान छ ।
‘५० प्रतिशतभन्दा तल नै खसेको छ भन्नेका हामी कन्फर्म छौ, अहिलेको तथ्यांक हेर्दा ४६ दशमलव ४२ प्रतिशत हुन आउछ, तर यहि अन्तिम हो भन्ने अवस्था छैन ।’ मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले सिभिलखबरसंग भने ‘एक्ज्याक्ट डाटा त मतगणनापछि मात्रै आउछ ।’

सामान्य विवादबाहेक जिल्लाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको समेत कार्यालयले जनाएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतगण्ना बेलुकी ५ बजेसम्म चलेको थियो । मतगण्ना सकिएसंगै नजिकका मतदान केन्द्रहरुका मतपेटिका सदरमुकाममा रहेको गणनास्थलमा ल्याउने क्रम सुरु भएको शर्माले बताए ।
तर गोरखा १ को चुमनुब्री गाउँपालिकाको मतपेटिका भने कसरी ढुवानी गर्ने भन्ने विषय अझै अन्योल रहेको उनको भनाई छ ।
‘हामीले चुमनुब्रीका २२ केन्द्रका मतपेटिका ३ ठाउँमा जम्मा गरेर हेकिोप्टरबाट ल्याउने योजनासहित निर्वाचन आयोगमा पत्र पठाएका हौ, तर अहिलेसम्म कुनै स्विकृती र निर्णय आइसकेको अवस्था छैन’ मुख्य निर्वाचन अधिकृत शर्माले भने ‘सबै मतपेटिका जम्मा नभई मतगणना सुरु हुदैन ।’
यता क्षेत्र नम्बर २ को भने सबै केन्द्रको मतपेटिका कार्यालयमा आइपुग्ने वित्तिकै गणना सुरु हुने बताइएको छ ।