सुदिप श्रेष्ठ
गोरखा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको तयारी पूरा भएको छ । ३ सय १७ मतदान केन्द्र र २ सय २२ मतदान स्थल रहेकाे गोरखामा निर्वाचनका सम्पूर्ण तयारी पूरा भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय गोरखाले जनाएकाे छ ।
‘सानातिना काम बाहेक लगभग सबै तयारी सकिएकाे अवस्था छ’ मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले सिभिलखबरसंगकाे कुराकानीमा भने ।
उनका अनुसार जिल्लाका सबै मतदान केन्द्रहरुमा कर्मचारी र शुरक्षाकर्मी पुगेर ब्यवस्थापनमा खटिएका छन् । दुई निर्वाचन क्षेत्र रहेकाे गोरखामा करिब २ लाख २० हजार मतदाता छन् ।
निर्वाचनका लागि ३ सय १७ केन्द्रमा गरि २ हजार ५ सय कर्मचारी खटाइएकाे मुख्य निर्वाचन अधिकृत शर्माले बताए । त्यस्तै सुरक्षा ब्यवस्थापनलाई समेत चुस्त बनाउन तिन घेरामा सुरक्षाकर्मी खटाइएकाे बताइएकाे छ ।
जसमा १ हजार ५९ जना नेपाल प्रहरी, १ हजार ९ सय ४९ जना म्यादी प्रहरीसहित शसस्त्र र नेपाली सेना गरी ३ हजार ७ सय ५९ जना सुरक्षाकर्मी खटिएकाे गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले बताए ।
सुरक्षाकर्मी हरेक मतदानस्थलमा ५ जना नेपाल प्रहरीसहित म्यादी, हरेक केन्द्रमा ७ जना नेपाल प्रहरीसहित म्यादीकाे टाेली खटाइएकाे छ । नेपाली सेना भने ७६ स्थानमा र २० स्थानमा शसस्त्र प्रहरी खटिएकाे बताइएकाे छ ।
सेना र शसस्त्रकाे टाेली भने तस्राे घेरामा रहने गरी सुरक्षा संरचना तयार गरिएकाे छ । आवस्यक परेकाे खण्डमा हरेक मतदान केन्द्रमा १० मिनेटभित्र नेपाली सेनाकाे टाेली पुग्ने गरी सुरक्षा ब्यवस्थापन मिलाइएकाे बताइएकाे छ ।
यता चुमनुब्री गाउँपालिकामा रहेकाे २२ मतदान केन्द्रको मतपेटीका ल्याउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगमा हेलीकाेप्टर प्रयोग गर्न योजना पठाएको तर स्विकृती भइनसकेकाे निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
तर त्यसक्षेत्रका मतपेटिका ल्याउन हेलिकाेप्टर बाहेक अन्य विकल्प नरहेकाले अन्तिम समयसम्म निर्वाचन आयाेगले स्विकृती दिन सक्ने स्राेत बताउछ ।