• मंगलबार, साउन १२ २०८३

आज मध्यरातदेखि मौन अवधि, के-के गर्न पाइँदैन ?


बिहिबार, मंसिर १ २०७९
965
Shares

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दलहरूले आजसम्म प्रचारप्रसार गर्न पाउँछन्।

निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गते मध्यरात १२ बजेसम्म मात्रै प्रचारप्रसारका लागि समय दिएको थियो।

आज मध्यराति १२ बजेपछि मौन अवधि (स्थिर समय) सुरू हुनेछ। मौन अवधिमा उम्मेदवारहरू र दलहरूले प्रचारप्रसारलगायत काम गर्न पाउने छैनन्।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थिर समय आज राति १२ बजेदेखि सुरू हुने बताए। निर्वाचन आचारसंहिताअनुसार स्थिर समय लागु भएका बेला चुनावी प्रचार गर्न पाइँदैन। 

‘निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, सभा, सम्मेलन, गोष्ठीलगायत गर्न पाइँदैन,’ उनले भने, ‘मतदान हुने दिनभन्दा ४८ घन्टा अघि मतदान स्थलभन्दा तीन सय मिटर वरपर राखेका दल र उम्मेदवारका प्रचारप्रसारका सामग्री पूर्ण रूपमा हटाउनुपर्छ।’

सामाजिक सञ्जाल, अनलाइन वा छापाबाट उम्मेदवारका प्रचारप्रसार गर्न नपाइने उनले बताए। ‘सामाजिक सञ्जालबाट गरिएका चुनावी प्रचार सामग्री हटाउनुपर्छ। लाइक वा सेयर गर्न पाइँदैन,’ उनले भने।

मतदान स्थल वरपर निर्वाचन बिथोल्ने गरी केही गर्नसमेत नपाइने उनले बताए। ‘मतदान स्थलका वरपर भोज, जुलुस, बाजा बजाउन पनि पूर्ण रूपमा निषेध गरिएको छ,’ उनले भने। 

मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि समय दिइएको आयोगले जनाएको छ।

यस्ता गतिविधि गर्न पाइँदैन

निर्वाचनको स्थितर समयमा निर्वाचन प्रचारप्रसारका लागि छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने आचारसंहितामा उल्लेख छ। आचारसंहिता अनुसार स्थिरसमय सुरु हुनुभन्दा पहिले नै मतदान स्थलको तीन सय मिटर वरिपरी राखिएका राजनीतिक दल तथा उम्मेदवारका चुनाव प्रचारप्रसारका सामग्री हटाउनु पर्ने छ।

कुनैपनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन। सामाजिक सञ्जाल, अनलाइन, छापालगायत अन्य कुनै माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाइँदैन। ती सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोस्ट तथा शेयर गर्न गराउन निषेध गरिएको छ।अनुगमनमा गोप्य टिम

निर्वाचनको अन्तिम समयमा बढी चलखेल हुँदै आएको छ। सत्तामा र सरकारी निकाय नजिक रहेको सरकारी सम्पत्तिको पनि प्रयोग हुँदै आएको छ। यसको नियन्त्रणका लागि आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, केही गोप्य टिमहरू देशैभर खटाइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अन्नपूर्णलाई जानकारी दिए।

मदिरा बिक्री वितरणमा रोक

निर्वाचनको शान्ति सुरक्षाका लागि मदिराजन्य समाग्रीको बिक्री वितरणमा रोक लगाइएको छ। ‘यस अवधिमा हामीले मदिराजन्य समाग्री ओसारपसार तथा बिक्री वितरणमा नियन्त्रण गरेका छौं’, उनले भने, ‘शान्ति भंग हुने कुनै काम गर्न दिँदैनौं।’ यसपल्ट उम्मेदवारभन्दा तिनले नियुक्ति गरेका र मतलाई तलमाथि गर्ने अदृश्य ठेकेदारहरूको बढी चलखेल हुन्छ कि भन्ने आशंका लागेको छ। त्यसका लागि आयोगले विशेष निगरानी बढाइएको उनले बताए।

चुनाव भाँडे उम्मेदवारी रद्द

कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लंघन गरेर निर्वाचनमा धाँधली गरे उम्मेदवारी रद्द हुने कानुनी व्यवस्था छ। यसरी उम्मेदवारी रद्द गर्नु अघि सम्बन्धित उम्मेदवारलाई सफाइको उचित मौका दिइने छ। कानुन अनुसार आचारसंहिता उलंघन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी र निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिबाना गर्न छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार