गोरखा । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नम्बर १ का बिभिन्न स्थानकाे चुनावी सभालाई सम्बाेधन गरेका छन् ।
चुनाव प्रचारप्रसारका क्रममा आइतबार हेलिकोप्टर चार्टर गरी गोरखाका बिभिन्न ४ स्थानमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले क्षेत्र नम्बर १ मा गठबन्धन दलका उम्मेदवारलाई भारी मतले जिताउन आग्रह गरे ।
शहिद लखन गाउँपालिका ६ काे घैरुङ्गमा आयाेजित सभालाई सम्बाेधन गर्दै उनले काँग्रेसका राजेन्द्र बजगाई गोरखा १ का लागि उपयुक्त पात्र रहेकाे बताए । ‘राजेन्द्रजी पर्यटन र विकास बुझेकाे ब्यक्ति हुनुहुन्छ, तपाईहरु भारी मत दिएर पठाउनुस केन्द्रमा मन्त्री बनाउने जिम्मा मेराे’ प्रचण्डले भने ‘यसका लागि देउवाजीसंग म कुरा गर्छु ।’
आफू र कांग्रेसका सभापति शेरबहादुर देउवा मिलेपछि नेपालमा गर्न नसकिने केही नरहेको दाबी दावी उनकाे थियाे ।
गोरखाको विकासका निम्ति राजेन्द्र बजगाईंलाई केन्द्रमा र नन्दप्रसाद न्यौपानेलाई प्रदेशमा मन्त्री बनाई विकासको जिम्मा दिन आफु तत्पर रहेको उनले बताए।
‘जित्न त राजेन्द्रजी र गठबन्धनलाई समस्या छदैछैन ।’ अध्यक्ष प्रचण्डले थपे ‘हात लुलाे हाेइन दराे बनाएर पठाउनु भयाे भने केन्द्रमा पनि हामी बलियाे हुन्छाै, विकासका काम गर्न सहज हुन्छ यसलाई आम जनताले बुझिदिनुस ।’
जनताले जिताएपछि आफु समेत प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताए । नेपालको गेम चेन्जर योजनाका रुपमा बुढीगण्डकी जलविधुत आयोजनालाई लिएकाले तिब्र गतिमा काम अघि बढाउन आफु प्रतिवद्ध रहेको समेत बताए ।
गोरखाबाट आफु र गठबन्धन दलका उम्मेदवारले जिते गोरखाका सडक हिलो र धुलोरहित बनाउने समेत उनले उद्घोष गरे ।
गोरखामा आइतबार उनले हेलिकोप्टर चार्टर गरेर गोरखा क्षेत्र नम्बर १ को चुमनुब्री गाउँपालिकाको सामागाउँ, छेकम्पार, फिलिम, धार्चेको माछीखोला, शहिद लखनको घैरुङ तथा क्षेत्र नम्बर २ को बारपाकमा चुनावी सभालाई सम्बोधन गरेका थिए ।
#राजेन्द्रबजगाई #प्रचण्ड
