
गोरखा । माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ उत्तरी गोरखा पुगेका छन् ।
गठबन्धनबाट गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाई र प्रदेश सभा क्षेत्र नम्बर १ ‘ख’ का उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई भोट माग्न उनी हेलिकप्टर मार्फत छेकम्पार, सामागाउँ, सिर्दिबास पुगेका हुन् ।
छेकम्पारमा भएको चुनावी सभामा बेनिघाट, आरुघाट, सिर्दिबास, चुम्चेत छेकम्पार ङुईला भञ्जयाङ सम्मको उत्तर दक्षिण लोकमार्गका लागि बजेट बिनियोजन गर्ने अध्यक्ष दाहालले प्रतिवद्धता जनाएका छन् । तिब्बतसँग जोडिएको गोरखाको रुईला र ङुईला नाका खोल्न मित्र राष्ट्र चिन सँग छलफल गर्ने आस्वासन उनले दिए ।
साथै उनले गठबन्धनका उम्मेदवार राजेन्द्र बजगाई र प्रदेश सभाका उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई रुख चिन्हमा मतदान गर्न मतदातालाई अपिल गरे । सामागाउँको अब्यवस्थित बसोबासीलाई तत्काल लालपुर्जा दिने प्रक्रिया अघि बढाउने, लोक्पा पहिरोको अध्ययन गरी ब्यवस्थित गर्ने, राहात उद्धारलाई अझै छिटो बनाउनुपर्ने लगायतका विषयमा दाहाल सहित बजगाई र न्यौपानेले पनि प्रतिवद्धता जनाए ।
उत्तरी गोरखाको भुगोल र जनतासँग धेरै परिचित रहेको बताउँदै गोरखा १ का उम्मेदवार राजेन्द्र बजगाईले पार्टी फरक भएपनि गठबन्धन दल बिकासकालागि एक ठाउँमा रहेको र पुराना सबै घाउ बिर्सिएर देशकालागि एक हुनुपर्ने बेला भएको बताए । प्रदेश सभाका उम्मेदवार नन्दप्रसाद न्यौपानेले दुर्गमका जनताको समस्या समाधान गर्न आफु सँधै प्रतिवद्धत रहेको बताए । गठबन्धनलाई जिताउँदा उत्तरी गोरखाको समस्या हल गर्न अब बन्ने गठबन्धनकै सरकारले काम गर्ने आस्वासन उम्मेदवारहरुले दिएका छन् ।
उत्तरी गोरखाको समस्याका बारेमा पूर्व प्रधानमन्त्री समेत रहेका दाहाल र उम्मेदवारलाई चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी गराएका थिए । साथै वडा अध्यक्ष, राजनीतिक पार्टीका प्रमुखहरुले त्यस क्षेत्रको समस्याका बारेमा ज्ञापन पत्र पेश गरेका थिए ।
दाहाल आईतवार हेलिकप्टरबाट धार्चेको माछाखोला, शहीदलखन गाउँपालिकाको घैरुङ र बारपाकमा आयोजित चुनावी कार्यक्रममा सहभागी हुँदैछन् ।




