• मंगलबार, साउन १२ २०८३

गोरखा १ काे विकास माेडेलका रुपमा राजेन्द्र बजगाईले ल्याए ३० बुदे प्रतिवद्धतापत्र (पूर्णपाठ)


आइतबार, कार्तिक २७ २०७९
885
Shares

गोरखा । गठबन्धनबाट गोरखा क्षेत्र नम्बर १ को प्रतिनिधि सभाका उम्मेदवार बनेका नेपाली कांग्रेसका युवा नेता राजेन्द्र बजगाईले ३० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

मतदातासमक्ष आफूलाई जिताउनुपर्ने आधार र कारणसहित उनले नेतृत्वले अनुयायी होइन नेतृत्व नै उत्पादन गर्नुपर्ने भन्दै आफूले पार्टीका समर्थकलाई कार्यकर्ता नभनी साथी भन्न रुचाएको बताएका छन् ।

बजगाईले आफूले जितेमा चुनाव लगत्तै गोरखा १ को समग्र विकासका लागि गाउँ बस्तिको समस्या र सम्भावनाको पहिचान तथा अध्ययन गर्न विज्ञ टोली परिचालन गर्ने बताएका छन् ।

त्यस्तै बजगाईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको सुनिश्चितताको लागि पहल गर्ने र त्यसअघि बेनिघाट–आरुघाट सडक स्तरोन्नतिको पहल गर्ने आश्वासन दिएका छन् ।

उनले हेलिकप्टरबाट पनि उद्धार गर्न कठिन दुर्गम बस्तीका ठाउँ पहिचान गरी कम्तिमा घना बस्ती र वडाहरुमा हेलिप्याड निर्माण गर्ने प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

पर्यटन व्यवसायी समेत रहेका बजगाईले पर्यटनसँग सम्बन्धित विषयलाई प्रतिबद्धतापत्रमा प्राथमिकता दिएका छन् । उनले निषेधित मनास्लु क्षेत्र खुल्ला गर्ने र पर्यटकको गोरखा बसाई लम्ब्याउन बैकल्पिक पदमार्गहरु निर्माण गर्ने समेत बताएका छन् ।

यी हुन् राजेन्द्र बजगाईका ३० बुँदे प्रतिवद्धता (पूर्ण पाठ)

१) राष्ट्रिय गौरवको बूढीगण्डकी जल विद्युत आयोजना निर्माणको सुनिश्चितता गर्न पहल गरिनेछ ।
२) लार्के–ङुईला डाजेन (छेकम्पार)–आरुघाट–बेनिघाट हुँदै ठोरी जोड्ने त्रिदेशीय सडक निर्माण गर्न पहल गरिनेछ ।
३) बूढीगण्डकी आयोजना निर्माणअघि बेनिघाट–आरुघाट सडक स्तरोन्नति गर्न पहल गरिनेछ ।
४) बूढीगण्डकी जलाशय निर्माण प्रारम्भपश्चात बेनिघाट–आर्खेत सम्मको बैकल्पिक मार्ग निर्माण हुने हुनाले यसको सबै काममा मेरो गहिरो अभिरुचि रहनेछ ।
५) बूढीगण्डकी अयोजनाबाट मुआब्जा पाउन छुटेकालाई मुआब्जा रकम प्राप्तिका लागि पहल गरिनेछ र बिस्थापित परिवारलाई वडाभित्र नै पुनर्बासको ब्यवस्था गर्न प्रयास गरिनेछ ।
६) बूढीगण्डकी आयोजना निर्माण र निर्माणपश्चात सिर्जना हुने अवसरहरुमा प्राथमिकताका साथ स्थानीयहरुलाई अबसर दिलाउन पहल गरिनेछ । साथै आयोजना आसपासका टाकुरा, फाँटहरुमा ब्यवसायिक उत्पादनसँगै पर्यापर्यटनको पूर्वाधार निर्माण गरिनेछ ।
७) लार्के–मनास्लु पदमार्गको विकाससँगै पर्यटकको गोरखाबसाई लम्ब्याउन बैकल्पिक पदमार्गहरु निर्माण गरिनेछ ।
८) चुमभ्यालीको स्याक्या लगायतका मौलिक परम्परालाई राष्ट्रिय पहिचान दिई, त्यहाँको पर्यापर्यटन, धार्मिक, ऐतिहासिकतालाई संरक्षण गर्ने गरी गुरुयोजना तयार गरी कार्य अघि बढाईनेछ ।
९) हेलिकप्टरबाट पनि उद्धार गर्न कठिन दुर्गम बस्तीका ठाउँ पहिचान गरी कम्तीमा घना बस्ती र वडाहरुमा हेलिप्याड निर्माण गरिनेछ ।
१०) गोरखकाली र गोरखनाथ मन्दिर क्षेत्र र तल्लो दरवार क्षेत्रलाई प्रवद्र्धन गर्दै उत्कृष्ट धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तब्यको रुपमा विकास गरिनेछ । पुरानो बजार क्षेत्रलाई सवारी नियन्त्रीत गरी पर्यटकीय मौलिक बजारको रुपमा विकसित गरिनेछ ।
११) मनकामना—गोरखकाली धार्मिक पर्यटन रुटलाई कालोपत्रे गरिनेछ ।
१२) बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या, चर्को ब्याजदर र त्यसले उद्योग ब्यवशायमा पारेको असर न्यूनिकरणका लागि पहल गरिनेछ ।
१३) कृषि सडक, पालिका र वडाभित्रको मूख्य सडक स्तरोन्नतिमा जोड दिईनेछ ।
१४) स्तुलखोला, खोर्लाखोलालगायत बूढीगण्डकी वारिपारिका गाउँबस्ती जोड्न पक्की पुल निर्माणमा पहल गरिनेछ ।
१५) निषेधित मनास्लु क्षेत्र खुल्ला गर्न पहल गरिनेछ साथै आपत्कालीन उद्धार (सुत्केरी तथा गर्भवती महिला) गर्न हटलाईन अनुमतिको ब्यवस्था ग्यारेन्टी गर्ने गरी तत्काल प्रक्रिया थालिनेछ ।
१६) धार्चे र चुमनुब्रीमा जडिवुटीको प्रचुर सम्भावनालाई अध्ययन गरी जडिवुटी प्रशोधन केन्द्र स्थापनामा पहल गरिनेछ ।
१७) मान्बु, रुन्चेत, केरौँजा जस्ता जोखिममा रहेका गोरखा १ का बिभिन्न बस्तीहरुको अध्ययन गरी त्यस्ता बस्तीमा रहेका घरपरिवारलाई बैकल्पिकबासको पहल गरिनेछ । यो काम गर्दा स्थानीय मनोभावनाको सम्मान गरिनेछ ।
१८) अब्यवस्थित बसोबासी र सुकुम्बासीहरुको समस्या समाधानका लागि दिगो ब्यवस्थापन गरिनेछ ।
१९) जिल्लाभित्र संचालन हुने मेगाप्रोजेक्टहरुमा रोजगारीको प्राथमिकता स्थानीयलाई दिन पहल गरिनेछ । साथै त्यस्ता कम्पनीलाई शेयर बजारमा सूचीकृत गर्ने र स्थानीयलाई शेयरमा लगानी गर्न पाउने अवसरको सुनिश्चितता गरिनेछ ।
२०) केन्द्रीय प्रशारण लाईन बिस्तारमा प्राथमिकता र हाईड्रोपावर निर्माणमा प्रोत्साहन गर्दै सबै घरमा बिजुलीको उज्यालो पु¥याउने लक्ष्यका साथ कार्यक्रम संचालन गरिनेछ ।
२१) स्थानीय, प्रदेश र संघीय सरकारसँग निरन्तर समन्वय गर्दै हरेक मुद्दामा जनतालाई प्राथमिकता राखेर काम गरिनेछ ।
२२) जिल्लाका विभिन्न गाउँबस्तीमा बसोबास गर्ने चेपाङ, बराम, माझी, दरै, चुम्बा, नुब्रीलगायत सीमान्तकृत, अल्पसंख्यक जनजाति, दलित समुदाय सबै र बिपन्न बर्गको आर्थिक, सामाजिक, शैक्षिक उन्नयनका लागि विशेष पहल गरिनेछ ।
२३) कृषियोग्य जमीनको सिंचाई, मल, बिउ बिजनको सहज उपलब्धता, यान्त्रिक औजारको प्रयोग, कृषि, पशुपालनमा युवाहरुलाई देशभित्रै रोजगारी सिर्जना गर्ने तथा उत्पादित कृषिउपजको बजारिकरणमा सहयोग गरिनेछ ।
२४) जिल्लाभित्रका विभिन्न समुदायको कला, भाषा, संस्कृति संरक्षण र विकासका लागि विज्ञहरुको सुझावअनुसार काम गरिनेछ ।
२५) जलवायू परिर्वतन संम्बन्धी कोपनहेगन -Coop 15_को प्रमुख समन्वयमा बैठक गरेको र निरन्तर यस अभियानमा लागेको हिसाबले जलवायु परिर्वतनको असर न्यूनिकरण, र यो मुद्धामा मेरो विशेष सक्रियता रहनेछ ।
२६) हिमाली क्षेत्रका लोपोउन्मुख वन्यजन्तु र वातावरण संरक्षणमा सक्रिय रहनेछु ।
२७) सुचना र संचार क्षेत्रको विकाससँगै दुर्गम र ग्रामीण भेगमा सहज संचार गर्न गराउन, दु्रत इन्टरनेट र सुचनाको सहज उपलब्धतामा पहल गरिनेछ ।
२८) खेल क्षेत्रको विकासमा ध्यान दिँदै युवा खेलाडीहरुको क्षमता अभिवृद्धिको लागि स्थानीय स्तरमै अवसर सिर्जना गरिनेछ ।
२९) प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ भित्रका धार्मिक स्थलहरुको विकासका लागि काम गरिनेछ ।
३०) गोरखा १ को समग्र विकासका लागि चुनावलगत्तै हरेक गाउँबस्तीको समस्या र सम्भावनाको पहिचान तथा अध्ययन गर्न विज्ञ टोली परिचालन गरिनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार