
सुदिप श्रेष्ठ
गोरखा । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा गोरखा कारागारमा रहेका कैदीबन्दीमध्ये पाचँ जनाले मतदान गर्न पाउने भएका छन् ।

कारागारका एक सय दुईजना कैदीबन्दी रहेकाे कार्यालयले जनाइएको छ । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय गाेरखाले जनाएको छ ।
कार्यालयका प्रमुख गणेश प्रसाद भटराईले कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरूलाई मतदानको व्यवस्था गरिने बताए।
उनले भने , “कैदीबन्दी एक सय दुईजना भए पनि मतदाता नामावलीमा ५ जनाको मात्र नाम छ । नाम भएकाले मात्र मतदान गर्न पाउनुहुन्छ ।”
कारागारमा हाल ९४ पुरुष र ८ जना महिला कैदीबन्दी रहेको जिल्ला कारागार गोरखाका प्रमुख भटराईले जानकारी दिए । जसमध्ये एक सय एक नेपाली र एकजना विदेशी रहेका छन् । जिल्लामा तिन सय १७ मतदान केन्द रहेका छन् ।
जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदाता अधिकृत गरी छ सय ४८ जना निर्वाचनमा खटाइने निर्बाचन कार्यालय गोरखाले जनाएको छ ।
