विगत साक्षी छ,नियम,कानून,नीति तथा कार्यक्रमहरु जति राम्रा भएपनि जनताले सरकारवाट के कति सेवा र सुविधा पाउने भन्ने कुरा ती कार्यान्वयन गर्ने व्यक्तिहरुको चेतना,क्षमता,योग्यता र चाहनामा भर पर्दछ । यदि जिम्मेवार व्यक्तिहरु नै असक्षम,अज्ञानी,लोभी,पक्षपाती भए भने जनताको विकासको चाहना कदापी पुरा हुँदैन ।
सक्षम,इमान्दार र कर्मठ जनप्रतिधि हुनु भनेको त्यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा कायाकल्प हुनु हो । त्यसैले,एक भोट हाल्नु भन्दा पहिला हजारौ पटक सोच्नु आवश्यक छ ।
निर्वाचनमा मतदान गर्नु भनेको केवल ५ वर्षका लागि मात्र होइन । यो त आफू र आफ्ना सन्ततिको भविष्य सम्मको लागि जोडिएको कुरा हो । खास गरी नेपाल जस्तो वहुदलीय व्यवस्था भएको देशमा प्रायः जनता कुनै न कुनै पार्टीमा आवद्ध भएकै हुन्छन् र जनताको त्यही आवद्धताको आधारमा राजनीतिक पार्टीहरु आफ्नो क्षमताको आकलन गर्दछन् ।
अहिले यहाँका पार्टीहरुको नीति,कार्यक्रम र सत्ता प्राप्ती पश्चातका उनीहरुको व्यवहारलाई सूक्ष्म तरिकाले अध्ययन गर्ने हो भने उनीहरुमा कुनै पनि तात्विक फरक देखिदैन । कुनै नेताले सकारात्मक काम कुनै पार्टी विशेषको कारणले होइन कि व्यक्तिको व्यक्तिगत चाहना,जनताप्रतिको उत्तरदायित्व,कर्तव्य र निष्ठाको कारण भएका हुन् । त्यसैले,राज्यका निकायमा जनशक्ति,श्रोत र साधनको सीमितता हुने भएको हुँदा हामीले मतदान गरेर पठाउने व्यक्तिको योग्यता,क्षमता,ज्ञान,निष्ठा र कर्तव्यवोध जस्ता पक्ष निकै नै महत्वपूर्ण हुन्छन् ।
अहिले हामीकहाँ पाको पुस्ता जो अहिलेको राजनीति,कर्मचारीतन्त्र र नागरिक समाजको नेतृत्व गरिरहेको छन्,उनीहरु शीतयुद्धकालीन औद्योगिक क्रान्तिको चेतनाको स्तरमा छन् । पाको पुस्ता विज्ञान,सूचना तथा प्रविधिबारे खास जानकार छैन । विडम्वना अहिले देशको हरेक क्षेत्रमा यही पुस्ताको वर्चश्व छ । अहिलेको निर्वाचनमा पनि अधिक क्षेत्रमा यही पुस्ताको उमेद्वारी छ ।
यसको ठीक विपरीत आधुनिक संसारसँग प्रतिस्पर्धा गरेर अग्रभागमा आफ्नो स्थान सुरक्षित गर्न सक्ने उदीयमान युवा पुस्ता जो राजनीति,कर्मचारीतन्त्र,व्यवसाय,नागरिक समाज सबै ठाउँमा आफ्नो स्थान वनाउन संघर्षरत छन् र देशका विभिन्न क्षेत्रमा उदाहरणीय काम गरेर संसारलाइ चकित वनाउँदै छन् ।
युवा पुस्ता स्थानीय तहदेखि केन्द्रसम्म उपयुक्त वातावरणको अभावमा तीव्र रुपमा विदेश पलायन भइरहेको छ । त्यहाँ अत्यन्तै दक्षतापूर्वक हरेक क्षेत्रमा जिम्मेवारी निर्वाह गरिरहेको छ । उनिहरुले विदेशवाट पठाएको विप्रेषणमा नै यहाँको पाको पुस्ताले हालीमुहाली गरिरहेको छ ।
अहिले हुन गइरहेको निर्वाचन यथास्थितिमा क्रमभंग गरेर युवा शक्तिलाई नेपाली राजनीतिमा स्थापित गराउन नयाँ परिस्थिति निर्माण गर्ने अमूल्य अवसर हो । निर्वाचनको पूर्वसन्ध्यामा आज सबैले एकपटक आफ्नो जात,पार्टी,व्यवसाय र धर्मभन्दा माथि उठेर सोच्नु पर्दछ । आफ्नो भोट सक्षम,योग्य,इमान्दार र कर्मठ व्यक्तिलाई हाल्न सक्नु पर्दछ ।
एकजना नेता इमान्दार,दक्ष र कर्तव्यनिष्ठ भयो भने त्यो ठाउँको विकासमा के कस्तो प्रभाव पर्दछ भन्ने कुरा सिंगापुर,मलेशिया,दक्षिण कोरिया,थाइल्याण्ड,भियतनाम,कम्वोडिया जस्ता देश तथा छिमेकी देशको विहार र राजस्थानको विकासबाट प्रमाणित हुन्छ ।
अहिले विद्यमान हाम्रो निर्वाचन प्रणालीअनुसार जब हामी प्रत्येक निर्वाचन क्षेत्रबाट सक्षम,योग्य,इमान्दार र कर्मठ नेतृत्व छान्ने अभ्यास गर्दछौ,तब मात्रै हामीले केन्द्रमा शिक्षित,कर्मठ र इमान्दार नेतृत्व पाउनेछौँ । र,निकै छोटो समयमा देशलाइ रुपान्तरण गर्न पनि सक्नेछौं ।
हामीले मनन गर्न पर्ने कुरा के हो भने विगतमा हामीले सक्षम,इमान्दार योग्य नेतृत्व चयन गर्न नसक्दा,हाम्रो शैक्षिक प्रणाली वैज्ञानिक र प्रतिस्पर्धी हुन सकेन । यसले राजनीतिक रुपमा हाम्रो नतृत्व कुशासन,भ्रष्टाचार,अक्षम र अयोग्य त छँदै थियो,कर्मचारीतन्त्र पनि त्यस्तै बन्न पुग्यो ।
विगतमा विकास बजेटको ८० प्रतिशत रकम पनि खर्च गर्न नसक्ने नेतृत्वलाई हामीले चुनेर पठायौँ । त्यसैले,बेला हुँदै हामीले ठण्डा दिमागले सोचेर सही निर्णय गर्न सक्यौँ भने हाम्रो एक भोटले देश विकासमा ठुलो योगदान दिन सक्नेछ ।
देशका सवै मतदानयोग्य नागरिकले यो वुझनु पर्दछ कि २१ औँ शताब्दीमा समृद्धि भनेको शारीरिक परिश्रमवाट होइन । यो त सोच,दक्षता र प्रविधिको विकासवाट हुने कुरा हो । जवसम्म हामीले वैज्ञानिक आविष्कार गरेर नयाँ नयाँ कुराहरुको सिर्जना गर्न सक्दैनौ,तवसम्म हाम्रो विकास संभव छैन ।
एकछिन अनुमान गरौं त,के हुन्थ्यो होला यदि हरेक १० जना युवाहरुमा ७ जना वैज्ञानिक हुने र संसारको निकै महत्वपूर्ण प्रविधिको पेटेन्ट राइट हाम्रा वैज्ञानिकहरुसँग हुन्थ्यो भने । यस्तोमा विदेशमा काम गर्ने हरेक नेपाली नागरिकलाई उच्चसम्मान र आदरको साथ व्यवहार गर्ने थिए ।
त्यसैले,हामीले के बुझ्न जरुरी छ भने हाम्रो देशलाई अरु कसैले गरीब बनाएको हुँदै हैन । हरेक निर्वाचनमा हामीले जात,पार्टी,क्षेत्र,लिंग आदिको नाममा अत्यन्तै असक्षमहरुलाई वारम्वार छानेर पठाएर नै हामी आजसम्म दरिद्र देशको रुपमा चित्रित भएका हौँ । त्यसकारण गरीब हुनमा दोष अरुलाई नदिऊँ । गहिरिएर सोचौँ,एक पटक हैन हजार पटक सोचौँ,फेरि यसपटक पनि छनौट हाम्रै हो । निर्वाचनको मिति टाढा छैन । पार्टी,जात,नाता र क्षेत्रको सीमित घेरामा रमाउने कि योग्य,सक्षम र दक्ष उमेदवार रोज्ने ?
वारम्वार हाम्रो अवस्था जहाँको त्यही राख्ने अक्षम,यथास्थितिमा रमाउने पुरानै पुस्ता वा संसारका जो सुकैसँग प्रतिस्पर्धा गर्न सक्ने र जस्तोसुकै परिस्थितिसँग पनि जुध्न सक्ने पुस्तालाई छान्ने ?रोजाइ हाम्रै हातमा छ ।
यो समय भावनामा वगेर म यो पार्टीको कर्मठ र प्रतिवद्ध कार्यकर्ता हुँ भनेर जस्तोसुकै उमेदवारलाई भोट हाल्ने समय होइन । यो त घरमा भएका जवान छोराछोरी,भर्खर जन्मेका नाति नातिनी,वुढेसकालका वृद्ध बाआमा,भरे भोलि भएका हजुरबा हजुरआमा सबैको लागि हित गर्न सक्ने समाज,देश र जनताको हितको रक्षा गर्न सक्ने कर्मठ,इमान्दार र योग्य उमेदवारलाई एक भोट हाल्ने साहास देखाउने वेला हो ।
याद गर्नुहोस्,यदि यस्तो गर्न सकियो भने मात्रै हामीले हाम्रो देशको सार्वभौमिकताको रक्षा गर्न सक्दछौ । परिवारको दुई छाक टार्न र नांगो शरीर ढाक्न खाडीमा हाडछाला घोटेर काम गर्ने दाजुभाई,दिदीवहिनीहरुलाई ससम्मान देशमा वोलाएर रोजगारको व्यवस्था गर्न सक्दछौ । निर्णय हाम्रै हो,हाम्रालाई कि राम्रालाई ?