गाेरखा । लाेकतान्त्रिक-बाम गठबन्धन दलका उम्मेदवारले हारे मुस्लिम लगायत समाजमा पछाडी पारिएका समुदायकाे अधिकार खाेसिने नेपाली काँग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तारले दावी गरेका छन् ।
आइतबार गाेरखामा गठबन्धन दलका भातृसंस्थाहरु नेपाल मुस्लिम संघ र नेपाल मुक्ति माेर्चाकाे संयुक्त बैठकमा बाेल्दै सत्तारले प्रतिगमनले जिते संविधानले प्रत्याभुत गरेका अधिकारहरु फेरी कटाैती हुने बताएका हुन् ।
मुस्लिम समुदायले इद लगायतका पर्वमा पाउदै आएकाे सार्वजानिक विदा समेत केपि ओली सरकारले कटाैती गरेकाे स्मरण गर्दै उनले आगामी मंसिर ४ काे निर्वाचनबाट एमालेलाई देशभर पत्तासाफ बनाउनुपर्ने बताए ।
सदियाैदेखि बसाेबास गर्दै आएकाे मुस्लिम लगायत सिमान्तकृत जातजातीकाे संस्कृती साथै परम्परामाथी ओली सरकारले पटकपटक प्रहार गरेकाे उनकाे आराेप थियाे ।
मस्जिद, मदरसा, कबरस्तान, इमामबाडा लगायतका धार्मिक स्थलहरु साथै आफ्नाे संस्कृती र रीतिकाे संरक्षण गठबन्धन दलबाट मात्रै सम्भव रहेकाे दावी गर्दै काँग्रेस नेता सत्तारले मंसिर ४ मा मुस्लिम समुदायले एकतावद्ध भएर गठबन्धनलाई जिताउनुपर्नेमा जाेड दिए ।
साथै राज्यका विभिन्न अंग, निकाय र क्षेत्रमा पाउदै आएकाे अवसरलाई जाेगाउन पनि गठबन्धनकाे जित आवस्यक रहेकाे सत्तारले बताए ।
ओलीले पटक पटक संसद विघटन गर्दै देशमा प्रतिगमन सुरु गरेकाले त्यसका बिरुद्ध बनेकाे गठबन्धनबाट मात्रै देशमा स्थिरता सम्भव रहेकाे उनकाे भनाई छ ।
गोरखाले उम्मेदवारका रुपमा शान्ति प्रकृयाका हस्ताक्षरकर्तालाई पाउनु आफैमा गर्वकाे बिषय रहेकाले अत्याधिक मतका साथ विजयी बनाएर पठाउन आह्वान समेत गरे ।
संयुक्त बैठकले नेपाल मुस्लिम संघ गाेरखाका अध्यक्ष जमिल मियाँ र मुक्ति माेर्चाका केन्द्रिय सदस्य माेहम्मद हकिम मियाँ संयाेजक रहने गरी संयुक्त चुनाव परिचालन समिती समेत गठन गरेकाे छ । साे समितीले क्षेत्र नम्बर १ र २ मा गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन सकृय भुमिका खेल्ने बताइएकाे छ ।