गोरखा । राजेन्द्र बजगाईकाे भुमिकाका कारणपनि आफु गोरखा आएकाे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले खुलासा गरेका छन् ।
चुनावी अभियानका क्रममा गोरखाकाे क्षेत्र नम्बर १ मा पर्ने आरुघाटमा स्थानीयसंगकाे भेटघाटका क्रममा प्रचण्डले यस्ताे बताएका हुन् ।
लाेकतान्त्रिक बाम गठबन्धनका तर्फबाट गोरखा १ काे प्रतिनिधी सभा सदस्यमा उम्मेदवार बनेका नेपाली काँग्रेसका नेता बजगाईकाे क्षेत्रमा अध्यक्ष प्रचण्डले यस्ताे खुलासा गरेपछि यसलाई अर्थपूर्ण रुपमा लिइएकाे छ ।
आफ्ने नाम गोरखा १ बाट सिफारिस भएपछि गठबन्धन दलका तर्फबाट काँग्रेसका बजगाईले सकरात्मक भुमिका खेलेकाे बताउदै उनले पार्टीकै नेता कार्यकर्ताकाे सल्लाहमा पछि आफु क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेकाे समेत बताए ।
आफु गोरखा २ बाट उम्मेदवार बनेपनि समग्र गोरखाकाे विकासकाे जिम्मा आफुले लिने बताउदै उनले त्यसका लागि दुवै क्षेत्रमा गठबन्धनका दलका उम्मेदवारले जित्नुपर्ने सर्त रहेकाे बताए ।
जनयुद्ध सुरु गर्नु पूर्व आरुघाटमा ३ वर्ष अध्यापन गरेका क्षणहरु सम्झिदै प्रचण्डले आरुघाट र आरुटार आउँदा गहिरो आत्मीयताको भावनात्मक सम्बन्ध ताजा हुने गरेको बताए ।
साथै आज भिमसेन थापा १ काे घ्याम्पेशाल बजार क्षेत्रका जनतासंगकाे भेटघाटका क्रममा उनले संविधानकाे रक्षा गर्दै आर्थिक समृद्धि गठबन्धनकाे मुख्य एजेण्डा भएकाे समेत बताएका छन् ।
गठबन्धनलाई कुनै शंका नगरी मतदान गर्न कार्यकर्तालाई आह्वान गर्दै उनले गोरखा २ मा घरदैलाे समेत सुरु गरेकाे छन् ।
घ्याम्पेशालबाट पाँचखुवा देउराली हुदै आफ्नो क्षेत्र छिरेका उनि आज अजिकाेट गाउँपालिकाकाे केन्द्र भच्चेकमा बास बस्ने कार्यतालिका छ । भाेली समेत गोरखा २ मा उनले घरदैलाे कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।