गोरखा । ग्लोबल गोरखा समाजको अध्यक्षमा गोकर्ण ढकाल चयन भएका छन् । गोरखा सदरमुकाममा भएकाे समाजकाे तेस्राे अधिवेशनले ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे हाे ।
गोरखा घर भएर विश्वभर छरिरएर बिभिन्न पेशा, ब्यवसायमा आवद्ध रहेकाहरुकाे छाता संस्थाका रुपमा रहेकाे समाजले शुक्रबार गोरखामा अधिवेशन समपन्न गर्दै एनआरएनए हङकङका अध्यक्ष समेत रहेका ढकालकाे नेतृत्वमा आगामी ३ बर्षका लागि कार्यसमिती चयन गरेकाे हाे । ढकाल यसअघि समाजकाे उपाध्यक्ष थिए ।
समाजका अध्यक्ष विनय अधिकारीकाे अध्यक्षतामा भएकाे अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल सरकार पूर्व उपप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

अधिवेशनले समाजकाे आगामी कार्यकालका लागि ६ जना उपाध्यक्ष समेत चयन गरेकाे छ । जसमा त्रिलोचन पोखरेल (अस्ट्रेलिया), आकाश बन्जरा (हङकङ), श्रीकृष्ण भट्टराई(कतार), बम गुरुङ (बेलायत), कमला लम्साल काप्री (जापान ) र गणेश लामिछाने (अमेरिका) रहेका छन।
त्यस्तै समाजकाे महासचिवमा विराट खनाल सर्वसम्मत चयन भएका छन् । यसअघि सचिव रहेका खनाललाई समाजकाे महासचिव बनाइएकाे हाे । जापानमा कार्यरत खनाल गण्डकी गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।
यसैगरी समाजको सचिवमा कतारका कार्यरत रामजी खत्री, मलेसियामा कार्यरत प्रेम पाण्डे र बेल्जियममा कार्यरत मदन दवाडी चयन भएका छन । समाजका कोषाध्यक्षमा बेलायतमा कार्यरत ज्ञानेन्द्र आले मगरले जिम्मेवारी पाएका छन् भने सहकोषाध्यक्षमा जर्मनीमा कार्यरत डा. सरोज अर्याल चयन भएका छन ।
समाजको युवा संयोजकको जिम्मेवारी भने नेदरल्याण्डमा कार्यरत सुभाषसिंह बस्नेतलाई दिइएको छ। अधिवेशनले जर्मनीका रामप्रताप थापा प्रमुख संरक्षक रहने गरी ४ सदस्यीय संरक्षक समिति समेत गठन गरेको छ। संरक्षक समितिको सदस्यहरुमा हरिहर अर्याल (फ्रान्स), जय प्रकाश गुरुङ (बेलायत) र विनय अधिकारी (बेलायत) रहेका छन ।
कार्यसमितिका सदस्य र बाकी रहेका पदाधिकारी भने कार्यसमिति बैठकले मनाेनित गर्ने तयारी समाजकाे रहेकाे बताइएकाे छ ।
अधिवेशनको उद्धघाटन समारोह नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठसहित राष्ट्रिय सभा सदस्य कमला पन्त, प्रशिद्ध पण्डित दिनबन्धु पाेखरेल, जिल्ला समन्व समितीका प्रमुख माेहन थापा लगायत गोरखाका स्थानीय तहका प्रमुख, उपप्रमुख लगायत बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीहरुकाे सहभागिता रहेकाे थियाे ।
सन २०१६ मा स्थापना भएको प्रवासी गोरखालीहरुको साझा संस्थाका रुपमा रहेकाे ग्लाेबल गोरखा समाज गोरखामा काेभिड संक्रमण राेकथाम लगायत बिभिन्न सामाजिक कार्यमा सकृय रहदै आएकाे छ ।
अधिवेशनकै अवसरमा संस्थालाई अघि बढाउन बिभिन्न समयमा याेगदान दिने ब्यक्तित्वहरुलाई समाजले सम्मान समेत गरेकाे जनाएकाे छ ।
