
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घन्टा सीमा सिल गर्ने सहमति भएको छ।

भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रूद्रपुरमा बिहीबार सम्पन्न नेपाल–भारत संयुक्त बैठकले यस्तो निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए।
उनका अनुसार कैलाली–कञ्चनपुरका प्रशासन तथा सुरक्षा निकायका प्रमुख र भारतीय अधिकारीहरूबीच छलफल भएको थियो बैठकमा सीमा-नाकामा हुने आपराधिक गतिविधि हुन नदिन आआफ्नो क्षेत्रमा सुरक्षा निगरानी बढाउने सहमति भएको छ।
‘बैठकमा निर्वाचन हुनुभन्दा ७२ घन्टाअघि सीमा-नाका सिल गर्ने सहमति भएको छ,’ उनले भने, ‘निर्वाचन प्रभावित हुने गतिविधि हुन नदिन सीमा-नाकामा सुरक्षा निगरानी बढाउने समझदारी भएको छ।’
पश्चिमी सीमा-नाका गड्डाचौकीमा नेपालीहरूमाथि दुर्व्यवहार हुने गुनासो आएकाले यस विषयमा पनि भारतीय सुरक्षा अधिकारीसमक्ष नाकामा मैत्रीपूर्ण व्यवहारको वातावरण बनाउन आग्रह गरिएको उनले बताए।
‘नाकामा हुने काठ तस्करी, चोरी निकासी र आपराधिक गतिविधि नियन्त्रण गर्ने कुरामा एकआपसमा सहयोग गर्ने कुरामा पनि बैठकमा सहमति भएको छ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘हुलाकी राजमार्ग निर्माणमा पनि अवरोध आएकाले सम्बन्धित स्थानीय अधिकारीहरूले स्थलगत अवलोकन गरेर सहजीकरण गर्ने विषयमा छलफल भएको छ।’


